भुपी सरोवर
सिगास ०३ बैतडी हाल : सिन्धुपाल्चोक
गुलाव हुन् कि ओठ ती कि हुन् कतै प्रसून ती
छ बैँस अङ्ग – अङ्ग ती अपूर्ण पूर्ण जून ती
चुमेर हेर्छु भन्छ यो खुबै गुलाव ओठ ती
सुँघेर हेर्छु भन्छ त्यो मृगी सुवास ओखती
नहान बाण उग्र भै निशान ताकि नेत्रले
दुखाउला अनन्त यो बिछिप्त वक्ष क्षेत्रले
गुराँस फुल्छ शीरमा गुलाव फुल्छ ओठमा
चुमेर बस्छु लौन है निहाल बैँस कोखमा
छ शीरफूल शीरमा सजिन्छ पाउ पायल
मुसुक्क मुस्कुराउँदा भएछु हेर घायल
हिमाल हाल देख्छु ती अपुष्ट पुष्ट टाकुरा
अनन्त आशमा बसे बुनेर जाल माकुरा
मुहार जून रूपमा मनुष्य एकनासले
भएछ हेर व्याकुलै अनन्त प्यार प्यासले
छ चाल ढाल छाल यो चिटिक्क बैँस खासले
सुकेर ज्यान ढल्छ लौ बसेर मात्र आशले
बरू छुनै तयार छन् सलाम हात पाउमा
दिएर ध्यान ज्यान ती गरेर प्यार नाउँमा
अरू हुँदै हुँदैन है भनेर भन्छु बैँसमा
बिना कसूर नै बसे मनुष्य लोक कैदमा
ननिस्क बैँस रापमा नगर्नु बात रातमा
नबस्नु हेर सुन्दरी लिएर दीप हातमा
नसालु हुन्छ बैँसमा नसा म थेग्न सक्दिनँ
बढेर आउँदा तृषा म हेर खेप्न सक्दिनँ