तरकारी खेतीले फेरिदै

राजेन्द्रप्रसाद पनेरु / कञ्चनपुर

बेलडाँडी गाउँपालिका ३ बैबाहाका रामलाल चौधरी गाउँमा सबै भन्दा बढी आम्दानी गर्ने किसानका रुपमा परिचित छन ।
तरकारी खेतीले उहाँलाई गाउँमै भन्दा बढी आम्दानी गर्ने व्यक्तिका रुपमा चिनाएको छ । विवाह हुनु अघि उहाँले खेतमा अरु किसानझै खेतवारीमा परम्परागत तरिकाले धान, गहुँ लगायतका अन्न बाली लगाउने गर्नु हुन्थ्यो ।त्यसले परिवारको खर्च धान्न समेत मुश्किल हुन्थ्यो । घरकै लागि आवश्यक हुने तरकारी समेत निकटबर्ती भारतीय व्यापारीबाट खरिद गर्नु पर्ने हुन्थ्यो । कृष्णपुर नगरपालिकाको बालुवाफाँटामा माईतीले तरकारी खेती गरेर मनग्य आम्दानी गरेको देखेपछि उहाँले माइतीबाटै तरकारी लगाउने तौर तरिका सिकेपछि तरकारी खेती गर्न थाल्नु भएको हो ।

करिब डेढ दशक देखि तरकारी खेतीमा संलग्न रहदै आएका रामलालले बार्षिक रुपमा तरकारी बिक्री गरेर रु १० लाख बढी आम्दानी गर्दै आउनु भएको छ । वडामै व्यवसायीक तरकारी खेती गर्नेमा उहाँ अग्रणी व्यक्तिका रुपमा परिचित छन ।
“माइतीले तरकारी खेती गरेर आम्दानी लिएको देखेपछि आफनै जग्गामा तरकारी खेती गर्ने सोच अघि सारे” उहाँले भन्नु भयो, “शुरुमा थोरै जग्गामा तरकारी रोपे राम्रै संग सप्रियो । त्यस पछि तरकारी खेती गर्ने जग्गाको क्षेत्रफल बढाउदै लगे । अहिले स्वामित्वमा रहेको डेढ विघा जग्गामा तरकारी खेती गरिदै आएको छ ।”  सोह्र कट्टा जग्गामा उहाँले काउली मात्रै रोप्नु भएको छ । पहिलो लट्को काउली उहाँले बेचेर रु पाँच लाख आम्दानी हात पार्नु भएको छ । दोश्रो लट्मा काउली, बन्दागोभी, गोलभेडा बेच्नका लागि तयारी अबस्थामा रहेको छ ।

“दुवै जना श्रीमान श्रीमतीको कामनै तरकारीका बेर्ना तयार गर्ने, रोप्ने, गोमेल गर्ने, सिचाई गर्ने र उत्पादीत तरकारीलाई बजारमा लगेर बेच्नेनै हो” रामलालकी श्रीमती चम्फा चौधरीले भन्नु भयो, “बिहानीको झिसमिसे देखि साँझ नपर्दा सम्म खेतबारीमै हुन्छौं ।” अरुले तरकारी लगाउन शुरु गर्दा तरकारी बेच्न शुरु गर्छौ । स्थानिय बजारमै पुरयाउन सकिदैन । पहिलो लट्को काउली रु ८० प्रति किलोका दरले बिक्री भएको छ । दोश्रो लट्को तरकारी महेन्द्रनगर बजार पुरयाई बेच्दै आएका छौं उहाँले भन्नु भयो ।” डेढ कट्टा जग्गामा मात्रै उहाँले २४ कुण्टल तनेबोडी उत्पादन गर्नु भएको छ । रामलाल जस्तै बैवाहाका सात जना बढी किसानले व्यवसायीक तरकारी खेती गर्दै आएका छन । मौसमी र बेमौसमी तरकारी खेती गरेर यहाँका किसानले आम्दानी लिदै आएका छन । तरकारी खेतीमै संलग्न किसान कालुराम चौधरीले खेतवारीमा रोपेको काउली बिक्री गरेर रु एक लाख ५० हजार आम्दानी हात पारेका छन ।

गत बर्ष काउली बिक्री गरेर उहाँले रु ८० हजार आम्दानी गर्नु भएको थियो । सात बर्ष देखि तरकारी खेती गर्दै कालुरामले भन्नु भयो, “अन्न लगायतका अरु बाली लगाउदा थोरै आम्दानी हुने भएकाले अधिक आम्दानी हुने तरकारी खेती गरेर परिवारको खर्च धान्दै आएका छौं । विगतमा जस्तो पैशाकै लागि साहु महाजन कहाँ हात थाप्नु परेको छैन ।” सीमा क्षेत्र नजिकै रहेको बैवाहाका बासिन्दाले पहिला भारतीय घुमन्ते व्यापारीले ल्याएको तरकारी चर्को मूल्यमा खरिद गर्दथे । हाल गाउँमै तरकारी खेती हुन थालेपछि भारतीयहरुले यहाँबाट तरकारी खरिद गरी लैजाने गरेका छन । “गाउँमा उत्पादीत तरकारी भारतीय व्यापारीले बारीमै आएर लैजाने गरेका थिए” स्थानिय तरकारी उत्पादनमा लागेका किसान देशराम चौधरीले भन्नु भयो, “हाल कोरोना भाइरसको संक्रमणका कारण सीमा क्षेत्र बन्द हुदा भारतीय व्यापारीले आउन पाएका छैनन् ।” सृजनशिल बचत तथा ऋण सहकारी संस्थाको सहकार्यमा किसान दुई परियोजना अन्र्तगत यस क्षेत्रका किसानलाई आधुनिक तरिकाले तरकारी लगाउने देखि बजार व्यवस्थापनको कार्य सिकाउने कार्य हुदै आएको छ ।

जेटिएको व्यवस्था गरी किसानलाई तरकारी बाली लगाउदा आउने समस्या निराकरण गर्न निकै मद्दत पुगेको छ । “उन्नतजातका तरकारीका बीउ लगाउनका लागि किसानलाई उत्प्रेरित गरी उत्पादन बढाउनका लागि लागेका छौं सहकारीका प्रवन्धन निर्देशक मदनराज भट्टले भन्नु भयो, “यहाँका तरकारी खेतीमा लागेका किसानलाई अरु क्षेत्रका किसानले लगाएको तरकारीको अबलोकन गराई सीप प्रवद्र्धन गर्ने कार्यमा समेत लागेका छौं । जसबाट एक किसानले सिकेको कुरा अर्का किसानलाई सिकाई उन्नत खेती तर्फ डोरयाउने कार्य हुदै आएको छ ।” किसानलाई उन्न बीउ, प्राविधिक सहयोग, किटनासक, सिचाईका लागि पम्प सेट र रसाईनिक मलमा सहयोग समेत सहकारीले गर्दै आएको छ । कृषि ज्ञान केन्द्र कञ्चनपुरले तरकारी खेतीमा लागेका किसानलाई तरकारी ढुवानी गर्न सहजता प्रदान गर्नका लागि ५० प्रतिशत अनुदानमा दुई वटा ढुवानीका साधान समेत उपलव्ध गराएको छ ।

“तरकारी ढुवानीका साधन नहुदा विगतमा निकै सास्ती खेप्दै आएका थियौं”सुन्दर चौधरीले भन्नु भयो, “चर्को भाडा तिरेर तरकारी बजारमा पुरयाउदा अधिक मूल्य हुदा बेच्न समस्या थियो । लागत खर्चमै तरकारी बजारमा बिक्री गरेर फर्कन्थ्यौं । हाल आफनै ढुवानीका साधानको व्यवस्था भएपछि तरकारी बेच्न निकै सहज भएको छ ।” कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख डा दिल बहादुर बिष्टले तरकारी खेती गर्दै आएका किसानका समस्या बुझेर योजना बनाई यान्त्रीकरण र आधुनिक तरिकाले तरकारी खेती गर्ने तौर तरिका सिकाई किसानलाई अझै व्यवसायीक बनाईने बताउनु भयो ।
“किसानका नजिकका साथी भनेका समुह, सहकारी, एग्रोभेटनै हुन” उहाँले भन्नु भयो, “किसानलाइ उन्नतजातका बीउविजन र रसाईनिक मल सहज रुपमा उपलव्ध हुने गरी नयाँ कुन मोडेलमा योजना बनाए लाभान्वीत हुन्छन । त्यसका लागि सरोकारवाला सबैको सहकार्यमा योजना बनाउछौं ।”

बेलडाँडी गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष दुर्गाप्रसाद चौधरी गाउँपालिकाको दुर्गम गाउँ बैवाह तरकारी खेतीका लागि उर्वर भूमि रहेको बताउनु हुन्छ । उहाँका अनुसार दोमट मलिलो माटो भएको बैवाहामा तरकारी खेती संगै उखु, आलु, खुर्सानी, काउली, गोलभेडा र तोरीबाली निकै सप्रिने गरेको छ । गाउँपालिकाको थोरै बजेटले किसानलाई आवश्यक सबै सुविधा पुरयाउन नसकिने भएकाले कृषि ज्ञान केन्द्रले योजनावद्ध रुपमा यस क्षेत्रका किसानका लागि निरन्तर रुपमा योजना ल्याउनु पर्ने उहाँको भनाई रहेको छ । गाउँपालिकाका उपाध्यक्ष कमलादेवी कार्कि कोरोना भाइरसका कारण भएको बन्दाबन्दीमा क्वारेन्टाईनमा बसेका व्यक्तिहरुलाई बैवाहकै किसानले उत्पादन गरेको तरकारी उपलव्ध गराईएको बताउनु भयो । “स्थानिय स्तरमै तरकारी उत्पादन हुन थालेपछि बाह्य क्षेत्रबाट तरकारी मगाउन परेन” उहाँले भन्नु भयो, “बन्दाबन्दीको अबधिभरी क्वारेन्टाइनमा बसेका व्यक्तिहरुलाई यहाँकै उत्पादीत तरकारीले धान्यो ।” गाउँपालिकाले तरकारी खेतीमा लागेका किसानको मनोवल उच्च राख्नका लागि आउदो परिषद्बाट बजेटको व्यवस्था गर्ने उहाँले बताउनु भयो ।

“यस अघि टोल भेलाबाट योजना छनौट गर्दा सडक मर्मत, ग्राभेलका मात्रै योजना आउने गरेका थिए” उहाँले भन्नु भयो, “विग्रदो सडकको अबस्था सुधारका लागि मात्रै गाउँपालिकाले रु दुई करोड २५ लाख रकम खर्च गरेको छ । कृषिका योजना आउने गरेका थिएनन् । सडकको अबस्था सुधार हुदै गएकाले व्यवसायीक कृषिका लागि पनि उपयुक्त योजना ल्याउछौं ।” बैवाहाका तरकारी खेतीमा संलग्न किसानले बार्षिक रुपमा रु एक करोडको तरकारी उत्पादन गर्दै आएका छन । बर्षातका बेला छाडेर अरु सबै महिना यहाँ तरकारी खेती हुदै आएको छ । बसन्ते, हिउदे संगै बेमौसमी तरकारी खेतीमा समेत यस क्षेत्रका किसान संलग्न छन । तरकारी खेतीमा संलग्न भएपछि कच्चि टायलका घरको ठाउमा पक्कि घर ठडयाएका छन । घर घरमै मोटरसाईकल समेत खरिद गरेका छन ।

ताजा समाचार