महेन्द्रनगर बसपार्कमा यात्रु तथा नागरिक सहायता कक्ष स्थापना


कञ्चनपुर : कञ्चनपुरको महेन्द्रनगर बसपार्कमा यात्रु सहायता कक्ष तथा नागरिक सहायता कक्ष स्थापना गरिएको छ। नजिकिँदै गरेको बडादशैँ, दीपावली तथा छठ पर्वलाई मध्यनजर गर्दै जिल्लाबाट विभिन्न स्थानमा जाने तथा बाहिरबाट कञ्चनपुर आउने यात्रुहरूको सहज, सुरक्षित र व्यवस्थित यात्राका लागि सहायता कक्ष स्थापना गरिएको हो।

आइतबार कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले एक कार्यक्रमबीच यात्रु सहायता कक्ष तथा नागरिक सहायता कक्षको उद्घाटन गर्नुभएको छ। चाडपर्वको समयमा सार्वजनिक सवारीसाधनमा यात्रुको चाप बढ्ने, सवारी आवागमनमा वृद्धि हुने तथा यात्रुहरूले विभिन्न समस्या भोग्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै सहायता कक्ष स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले बताउनु भयो ।

यस जिल्लाबाट विभिन्न स्थानमा जाने तथा बाहिरी जिल्लाबाट कञ्चनपुर आउने आम सर्वसाधारण यात्रुहरूको यात्रालाई सहज एवं सुरक्षित बनाउनु, यात्रुका समस्या तथा गुनासा बुझ्नु, आवश्यक सहजीकरण गर्नु र तत्काल सहयोग उपलब्ध गराउनु सहायता कक्षको मुख्य उद्देश्य रहेको उहाँको भनाइृ रहेको छ ।

त्यसैगरी, सडक सुरक्षा अभिवृद्धि गर्दै सवारी दुर्घटना न्यूनीकरण तथा रोकथाम गर्ने, सवारी साधनको प्रभावकारी व्यवस्थापन गर्ने र यात्रु तथा सर्वसाधारणलाई सुरक्षित एवं व्यवस्थित यातायात सेवा प्रदान गर्ने उद्देश्यले सहायता कक्ष सञ्चालनमा ल्याइएको हो।चाडपर्वको समयमा हुन सक्ने यात्रु ठगी, बढी भाडा असुली, सवारी साधनमा हुने अव्यवस्था, यात्रुका सामान हराउने तथा अन्य समस्याको गुनासो र जानकारीसमेत सहायता कक्षमार्फत लिन सकिने व्यवस्था गरिएको जनाइएको छ।

यात्रु सहायता कक्षमा सम्बन्धित सुरक्षाकर्मी तथा सरोकारवाला निकायको समन्वयमा सेवा प्रवाह गरिनेछ। यात्रुहरूले यात्राका क्रममा कुनै समस्या परेमा सहायता कक्षमा सम्पर्क गरी आवश्यक सहयोग लिन सक्नेछन्।चाडपर्वलाई लक्षित गरी स्थापना गरिएको सहायता कक्षले सार्वजनिक यातायातलाई थप व्यवस्थित, सुरक्षित र यात्रुमैत्री बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै, सवारी चालक तथा यातायात व्यवसायीलाई समेत ट्राफिक नियमको पूर्ण पालना गर्न र यात्रुसँग जिम्मेवार तथा मर्यादित व्यवहार गर्न आग्रह गरिएको छ।


Loading Viewer...

ताजा समाचार

spot_img