कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका–४ मा एडिबीको सहुलियत ऋण सहयोगमा निर्माण भइरहेको आधुनिक कालोपत्रे सडकमा कार्यरत अनौपचारिक श्रमिकले कानुनअनुसारको ज्याला, सुरक्षा तथा सामाजिक सुरक्षाका सुविधा पाए–नपाएको विषयमा अाज संयुक्त अनुगमन गरिएको छ। राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपालको समन्वय तथा एक्सन एड नेपालको सहयोगमा सञ्चालित परिश्रम परियोजनाअन्तर्गत गरिएको अनुगमनको मुख्य उद्देश्य निर्माणस्थलमा श्रमिकको श्रम अधिकार कार्यान्वयनको अवस्था पहिचान गर्नु, देखिएका समस्या उजागर गर्नु र सुधारका लागि सम्बन्धित निकायलाई जिम्मेवार बनाउनु रहेको थियो।

अनुगमनका क्रममा श्रमिकको न्यायोचित ज्याला, नियमित हाजिरी, सुरक्षा सामग्री, बीमा तथा महिला–पुरुषबीच समान कामको समान ज्याला कार्यान्वयन भए–नभएकोबारे श्रमिकसँग प्रत्यक्ष जानकारी लिइएको थियो। अनुगमनमा नगरप्रमुख रणबहादुर महरा, वडा नं. ११ का अध्यक्ष शेरबहादुर साउद, राष्ट्रिय हलिया महासंघका केन्द्रीय उपाध्यक्ष शिवि लुहार, परियोजना संयोजक हरि सिंह बोहरा र रोजगार शाखा प्रमुख कृष्ण भट्टलगायत सहभागी थिए। अनुगमनका क्रममा श्रमिकका अधिकार व्यवहारमै सुनिश्चित गर्न समान काममा समान ज्याला, सुरक्षित कार्यस्थल, आवश्यक सुरक्षा सामग्री, बीमा र व्यवस्थित हाजिरीलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको थियो। स्थानीय तह, रोजगारदाता र श्रमिकबीच नियमित समन्वय तथा अनुगमनमार्फत निर्माणस्थलमा श्रमिकमैत्री वातावरण सुनिश्चित गर्नुपर्ने सहभागीहरूको भनाइ थियो।











