कञ्चनपुर — कृष्णपुर नगरपालिका–६ स्थित महाकाली सामुदायिक वन उपभोक्ता समूहको १९औँ वार्षिक साधारणसभा सांस्कृतिक झाँकीसहित सम्पन्न भएको छ। साधारणसभाले वार्षिक प्रगति तथा लेखापरीक्षण प्रतिवेदन र चालु आर्थिक वर्षको कार्ययोजना सुझावसहित पारित गरेको छ। सामुदायिक वनका अध्यक्ष वीरबहादुर राजवंशीको अध्यक्षतामा सम्पन्न सभाका प्रमुख अतिथि कृष्णपुर नगर कार्यपालिका सदस्य तथा वन तथा वातावरण संयोजक एवं वडा नं. ६ का वडाध्यक्ष बाबुराम चौधरी रहनुभएको थियो।

कार्यक्रममा पिपरिया सब–डिभिजन वन कार्यालयका प्रमुख आशिष स्वार र सीएफसीसी कञ्चनपुरका अध्यक्ष योगराज चौधरीलगायतको उपस्थिति थियो। सभामा आन्तरिक लेखापरीक्षण संयोजक दिनेश कडालले वार्षिक आय–व्यय विवरण तथा अध्यक्ष राजवंशीले प्रगति प्रतिवेदन र चालु वर्षको कार्ययोजना प्रस्तुत गर्नुभएको थियो। सहभागीले वन संरक्षण, दिगो व्यवस्थापन, पारदर्शिता र उपभोक्ताको हितलाई प्राथमिकता दिनुपर्ने सुझाव दिएका थिए। साधारणसभामा स्थानीय मौलिक संस्कृति झल्काउने दिन नचुवा र देउडा नाच प्रस्तुत गरिएको थियो।

कार्यक्रममा पूर्वअध्यक्ष जीतबहादुर करियाकंग्रहुवा, वडा सदस्य चक्र रैकाल, प्रगतिशील सालका अध्यक्ष महेन्द्र रोकायालगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यसमिति सचिव देवकीदेवी नेगीले स्वागत गर्नुभएको कार्यक्रमको अन्त्यमा अध्यक्ष राजवंशीले प्रतिवेदन र कार्ययोजना कार्यान्वयनमा सबै उपभोक्ताको सहयोग आवश्यक रहेको बताउँदै सभा समापन गर्नुभएको थियो।











