महेन्द्रनगर : साहित्यकार बलदेव अवस्थीको कृति ‘चन्द्रा अपवित्र छैन ’ माथि विमर्श तथा रचना वाचन कार्यक्रम महेन्द्रनगरमा सम्पन्न भएको छ। सगरमाथा साहित्यिक प्रतिष्ठान, सुदूरपश्चिम प्रदेशको आयोजनामा भएको कार्यक्रममा कृतिमाथि रमेश पन्त मीतबन्धु, प्रजापति नेगी तथा जगदीश ओझाले साहित्यिक समीक्षा प्रस्तुत गरे सँगै विभिन्न स्रष्टाहरूले रचना वाचन गरेका थिए। कार्यक्रममा साहित्यकार अवस्थीको कृतिका विषयवस्तु, सिर्जनात्मक पक्ष तथा समकालीन साहित्यमा यसको स्थानबारे रमेश पन्त तथा प्रजापति नेगीले चर्चा गरेका थिए भने कृति भित्रकै दोस्रो कथा ” अथक प्रयास ” माथी साहित्यकार जगदीश ओझाले समीक्षात्मक मन्तव्य राखेका थिए।

कार्यक्रमको अध्यक्षता खिमानन्द बडूले गरेका थिए भने साहित्यकार वीरबहादुर चन्द ‘विश्राम’ प्रमुख अतिथि कृतिकार बलदेव अवस्थी,साहित्यकार पञ्चमराज भट्ट विशिष्ट अतिथिका रूपमा सहभागी भयेका थिए। कार्यक्रममा साहित्यकारहरू रमेश पन्त ‘मीतबन्धु’, तुलसी पण्डित, प्रेमप्रकाश कलौनी, नवीन बडू, निर्मला साउँद, चन्द्रदेव भट्ट, प्रजापति भट्ट, जगदीश ओझा ,चाँदनी भट्ट ; अमितप्रसाद भट्ट;इञ्जिनियर विवेक पन्त लगायतको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागी स्रष्टाहरूले कविता, गजल तथा अन्य साहित्यिक रचना प्रस्तुत गरेका थिए। रचना वाचनका क्रममा समकालीन सामाजिक यथार्थ, मानवीय संवेदना, संस्कृति-पर्यटन र जीवनका विविध पक्षलाई साहित्यका माध्यमबाट अभिव्यक्त गरिएको थियो। आयोजक सगरमाथा साहित्य प्रतिष्ठानका अनुसार यस्ता कार्यक्रमले कृति प्रकाशनसँगै त्यसको आलोचनात्मक अध्ययन, विमर्श र पाठकीय संवादको संस्कृति विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

पछिल्लो समय साहित्यिक कृतिको प्रकाशनसँगै त्यसबारे सार्वजनिक बहस र पाठकीय अन्तर्क्रियालाई निरन्तरता दिनुपर्ने आवश्यकता बढ्दै गएको सन्दर्भमा कार्यक्रम आयोजना गरिएको जनाइएको छ। कार्यक्रममा सहभागी साहित्यकारहरूले साहित्यलाई केवल प्रकाशनमा सीमित नराखी पठन, विमर्श र रचना वाचनको माध्यमबाट समाजसँग जोड्नुपर्ने धारणा राखेका थिए। प्रतिष्ठानका सचिव बिरेन्द्रबहादुर चन्दद्वारा सञ्चालन गरिएको उक्त कार्यक्रममा साहित्यकार उमेश अवस्थी आदर्श ;विबेक पन्त;अमित भट्ट;चाँदनीभट्ट;निर्मला साउद;प्रेमप्रकाश कलौनी; एम डि मायालु ; नविन बडू;राजुसिह खडका ;गोरख चन्द लगायतले गीत;गजल,कविता प्रस्तुत गरेका थिए। सोही कार्यक्रममा कृतिकारले लामो समय सम्म साहित्यिक सेवामा पुर्याएको योगदानको कदर गर्दै प्रतिष्ठानले सम्मान प्रदान गरेको थियो। कार्यक्रमको अन्तमा कृतिकार अवस्थी प्रमुख अतिथि गुगुल्डि वाङ्मय प्रतिष्ठानका अध्यक्ष वीरवहादु चन्द;सभाध्यक्ष खिमानन्द बढुले सबै प्रति धन्यवाद ब्यक्त गरेका थिए।











