राज्यकै उपेक्षामा महेन्द्रनगरको पहिलो माध्यमिक विद्यालय बैजनाथ : जिर्ण भवनमा १५ सय विद्यार्थीको भविष्य जोखिममा !


महेन्द्रनगर : शिक्षालाई विकासको आधारस्तम्भ मान्ने राज्यकै आँखाअगाडि कञ्चनपुरको इतिहास बोकेको एक शैक्षिक संस्था जीर्णता र उपेक्षाको मार खेपिरहेको छ। जिल्लाकै पहिलो माध्यमिक विद्यालयका रूपमा परिचित बैजनाथ माध्यमिक विद्यालय अहिले जीर्ण, जोखिमपूर्ण र असुरक्षित भवनभित्र पठनपाठन सञ्चालन गर्न बाध्य छ। झण्डै ६ दशकभन्दा बढी इतिहास बोकेको यो विद्यालयको भौतिक अवस्था यति नाजुक बनेको छ कि कुनै पनि बेला ठूलो दुर्घटना हुन सक्ने त्रासबीच १५ सयभन्दा बढी विद्यार्थी अध्ययन गरिरहेका छन्। महेन्द्रनगरको मुटुमा अवस्थित यो विद्यालय वि.सं. २०२३ सालमा स्थापना भएको हो। शिक्षा विस्तारका लागि कञ्चनपुरमा दीपस्तम्भको रूपमा स्थापित यस विद्यालयले हजारौँ विद्यार्थी उत्पादन गरेको छ। यही विद्यालयबाट अध्ययन गरेर प्रशासन, राजनीति, शिक्षा, सुरक्षा निकाय तथा विभिन्न राज्य संयन्त्रका उच्च पदमा पुग्ने व्यक्तिहरूको संख्या उल्लेख्य छ। तर विडम्बना, आज त्यही ऐतिहासिक विद्यालय राज्यको प्राथमिकताबाट बाहिर परेको आरोप स्थानीयको छ।

विद्यालय परिसरमा रहेका करिब पाँचवटै भवन जीर्ण अवस्थामा छन्। कतै छाना चुहिन्छ, कतै भित्तामा गहिरा चिरा परेका छन् भने कतिपय कक्षाकोठाको सिलिङबाट प्लास्टरका टुक्रा झर्ने गरेका छन्। विद्यालय प्रशासनका अनुसार जिर्ण भवनका कारण शैक्षिक गतिविधि प्रभावित मात्र भएको छैन, विद्यार्थी र शिक्षकको सुरक्षामाथि नै गम्भीर प्रश्न उठन सक्ने देखिएको छ। “हामी हरेक दिन त्रासमा विद्यालय सञ्चालन गरिरहेका छौँ,” विद्यालयका प्रधानाध्यापक डवल बहादुर बिष्ट भन्छन्, “कुनै दिन सिलिङ खस्ने हो कि, कुनै दिन भित्ता चर्किएर दुर्घटना हुने हो कि भन्ने चिन्ता सधैँ रहन्छ। यस्तो अवस्थामा गुणस्तरीय शिक्षाको कल्पना गर्न गाह्रो नै हुन्छ तर जोखिम मोलेर भएपनी सके अनुसार काम गरिरहेका छौ ।” विद्यालयमा हाल करिब १५ सय विद्यार्थी अध्ययनरत छन्। प्राथमिक तहदेखि माध्यमिक तहसम्म नेपाली र अंग्रेजी दुवै माध्यममा पठनपाठन हुँदै आएको छ। विद्यालयले कृषि तथा इन्जिनियरिङ लगायतका प्राबिधिक विषयसमेत अध्यापन गरिरहेको छ। तर ती विषयको प्रभावकारी अध्ययनका लागि आवश्यक आधुनिक प्रयोगशाला, सुविधा सम्पन्न कक्षाकोठा तथा प्रविधिमैत्री संरचनाको अभाव रहेको छ। विद्यालयसँग झण्डै १५ बिघा जमिन उपलब्ध छ। अर्थात् भौतिक संरचना विस्तार गर्न जग्गाको अभाव छैन।

बिध्यालयलाई राज्यको इच्छाशक्ति र बजेटको अभाव रहेको छ । विद्यालयका अनुसार संघीय सरकार, सुदूरपश्चिम प्रदेश सरकार र स्थानीय सरकारसमक्ष पटक-पटक भवन निर्माणको माग राखिए पनि कुनै निकायले गम्भीरतापूर्वक चासो दिएका छैनन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश सिंह खत्रीले राज्यको प्राथमिकतामाथि प्रश्न उठाएका छन । “सरकारले शिक्षामा लगानी बढाएको दाबी गरिरहेको छ। तर जिल्लाकै पहिलो माध्यमिक विद्यालयको यस्तो अवस्था किन ? विद्यार्थी कम भएका विद्यालयमा करोडौँका भवन बन्ने, तर १५ सय विद्यार्थी पढ्ने ऐतिहासिक विद्यालय उपेक्षामा पर्नु दुर्भाग्यपूर्ण हो,” उनले भने। अभिभावक संघका अध्यक्ष नवराज भट्टले बैजनाथ माध्यमिक  विद्यालयले राज्यलाई हजारौँ दक्ष जनशक्ति दिएको छ, तर राज्यले विद्यालयलाई न्यूनतम भौतिक पूर्वाधारसमेत उपलब्ध गराउन सकेको छैन। “यही विद्यालयबाट पढेर धेरै व्यक्ति मन्त्री भए, सचिव भए, उच्च पदमा पुगे। उनीहरूका सफलतामा हामी गर्व गर्छौँ,” भट्टले भने, “तर आज त्यही विद्यालयका विद्यार्थी चर्किएको भवनमा बसेर पढ्न बाध्य छन्। यो केवल एउटा विद्यालयको समस्या होइन, यो राज्यको शिक्षा नीतिको असफलताको प्रतीक हो।” स्थानीय अभिभावकहरूले  शिक्षाको गुणस्तरको चर्चा गर्ने सरकारहरूले विद्यालयको आधारभूत आवश्यकता नै बेवास्ता गरेका छन्। “भवन असुरक्षित छ, छाना चुहिन्छ, कक्षाकोठा जीर्ण छन्। यस्तो अवस्थामा हामी आफ्ना बालबालिकालाई कसरी ढुक्क भएर विद्यालय पठाउने ?” एक अभिभावकले प्रश्न गरे। राज्यका तीनै तहका सरकार विकास र शिक्षाको भाषणमा व्यस्त छन्, तर वास्तविक आवश्यकता भएका संस्थाहरू भने राजनीतिक पहुँच र प्राथमिकताको अभावमा पछाडि पारिएको उनिहरुको भनाई छ ।

बैजनाथ माध्यमिक विद्यालय यसको ज्वलन्त उदाहरण बनेको उनीहरूको दाबी  छ। विद्यालय प्रशासनका अनुसार भवनहरुको अवस्था दिनप्रतिदिन थप जीर्ण बन्दै गएको छ। समयमै नयाँ भवन निर्माण नभए वा पुराना भवनको पुनःनिर्माण तथा मर्मतसम्भार नगरिए ठूलो मानवीय क्षति हुन सक्ने देखिएको छ। तर सम्बन्धित निकाय अझै मौन देखिएको उनिहरुको आरोप छ। विद्यालयले सुविधा सम्पन्न शैक्षिक भवन, आधुनिक पुस्तकालय, विज्ञान तथा कम्प्युटर प्रयोगशाला, स्मार्ट कक्षाकोठा, खेलकुद मैदान र अन्य अत्यावश्यक संरचना निर्माणका लागि तत्काल बजेट विनियोजन गर्न माग गरेको छ। विद्यालयको भौतिक अवस्था सुधार नगरी गुणस्तरीय शिक्षाको नारा केवल भाषणमा सीमित हुने उनीहरूको भनाइ छ। अभिभावक संघ, विद्यालय व्यवस्थापन समिति र शिक्षकहरूले अब थप मौन बस्न नसकिने चेतावनी दिएका छन्। उनीहरूले राज्यका सम्बन्धित निकायलाई तत्काल विद्यालयको अवस्था अवलोकन गरी आवश्यक बजेट व्यवस्था गर्न आग्रह गरेका छन्। “हामीले वर्षौँदेखि शान्तिपूर्ण रूपमा माग गरिरहेका छौँ। अब पनि सुनुवाइ भएन भने विद्यार्थी, अभिभावक र शिक्षकहरूलाई सडकमा उतार्न बाध्य हुनेछौँ,” अभिभावक संघका अध्यक्ष भट्टले चेतावनी दिए, “हामी अब इतिहास बोकेको विद्यालयलाई ढल्न दिने छैनौँ।” बिध्यालयको आवध्यकता भन्दा पनि राजनिति पावर पहुँचको भरमा बिध्यालय भवन बाडिनु दुखद भएको उनले बताए । कञ्चनपुरको शिक्षा इतिहाससँग जोडिएको बैजनाथ माध्यमिक विद्यालय आज केवल एउटा शैक्षिक संस्था मात्र होइन, राज्यको शिक्षा प्रतिको जिम्मेवारीको परीक्षा पनि बनेको छ। हजारौँ विद्यार्थीको भविष्य निर्माण भइरहेको यो विद्यालयमा सुरक्षित भवन, आधुनिक पूर्वाधार र आधारभूत सुविधाको अभाव हुनु सामान्य विषय नभएको उनको भनाई छ । यदि सम्बन्धित निकाय अझै पनि मौन बसिरहने हो भने, कुनै दिन जीर्ण भवनबाट हुने दुर्घटनाको जिम्मेवारी कसले लिने ? यो प्रश्न अहिले केवल बैजनाथ विद्यालयको मात्र होइन, समग्र राज्य संयन्त्रको सामु उभिएको गम्भीर प्रश्न रहेको उनिहरुले बताएका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img