चार दशकको साहित्यिक–सांस्कृतिक साधनाको सम्मान : प्राज्ञ बने हरीश प्रसाद जोशी


धनगढी : सुदूरपश्चिमको भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा चार दशकभन्दा बढी समयदेखि निरन्तर समर्पित हरीश प्रसाद जोशी ‘प्रफुल्ल’ सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको सदस्य (प्राज्ञ) पदमा नियुक्त भएका छन्। प्रदेश सरकारले गरेको यो नियुक्तिलाई जोशीको लामो साहित्यिक, शैक्षिक तथा सांस्कृतिक यात्राप्रतिको सम्मानका रूपमा हेरिएको छ। बैतडीको मेलौली नगरपालिका–५ खलिगाडमा जन्मिएका जोशीले शिक्षण पेशासँगै भाषा, साहित्य, कला र संस्कृतिको क्षेत्रमा समानान्तर रूपमा सक्रिय जीवन बिताएका छन्। शिक्षक, साहित्यकार, सम्पादक, संस्कृतिकर्मी तथा सामाजिक अभियन्ताका रूपमा परिचित उनी सुदूरपश्चिमको मौलिक पहिचान जोगाउन निरन्तर क्रियाशील व्यक्तित्वका रूपमा स्थापित छन्। विशेषगरी डोट्याली भाषा, लोकसाहित्य र लोकसंस्कृतिको संरक्षणमा जोशीको योगदान उल्लेखनीय छ।

डोट्याली भाषाको शब्दभण्डार संरक्षण गर्ने उद्देश्यले प्रकाशित ‘बृहत् डोट्याली शब्दकोश’ र ‘आधारभूत डोट्याली व्याकरण’ जस्ता कृतिले उनलाई भाषिक अभियानका अग्रपङ्क्तिका व्यक्तित्वका रूपमा स्थापित गरेका छन्। मातृभाषाको संरक्षण केवल भाषिक दायित्व नभई सांस्कृतिक अस्तित्वको सवाल भएको उनको बुझाइ छ। वि.सं. २०४७ सालमा स्थापना भएको महाकाली साहित्य सङ्गमका संस्थापक सदस्य रहेका जोशीले संस्थाको विकास र विस्तारमा महत्वपूर्ण भूमिका खेलेका छन्। केन्द्रीय सदस्य, सचिव, महासचिव हुँदै दुई कार्यकाल अध्यक्षको जिम्मेवारी सम्हालेका उनले सङ्गमलाई सुदूरपश्चिमकै अग्रणी साहित्यिक संस्थाका रूपमा स्थापित गर्न योगदान दिएका छन्। साहित्य सिर्जना, सम्पादन, अनुसन्धान र सांस्कृतिक नेतृत्वका माध्यमबाट समाजमा सक्रिय रहेका जोशीले अन्तर्राष्ट्रिय मञ्चहरूमा समेत सुदूरपश्चिमको भाषा, साहित्य र संस्कृतिको प्रतिनिधित्व गरेका छन्।

भारतका विभिन्न राज्यमा आयोजित साहित्यिक सम्मेलनदेखि अन्तर्राष्ट्रिय कवि सम्मेलनसम्म उनले डोट्याली भाषा र नेपाली संस्कृतिको परिचय गराएका छन्। गौरा, विशु, पुस्यापन्नर, गंगादशहरा, हरियालो लगायत सुदूरपश्चिमका मौलिक पर्वहरूको संरक्षण र प्रवर्द्धनमा उनको भूमिका उत्तिकै महत्वपूर्ण छ। तीन दशकभन्दा बढी समयदेखि सञ्चालन हुँदै आएको गौरा महोत्सवलाई निरन्तरता दिन उनले खेलेको भूमिका सांस्कृतिक वृत्तमा उदाहरणीय मानिन्छ। सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको प्राज्ञ पदमा उनको नियुक्तिले अब प्रदेशको भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा थप प्रभावकारी योगदान पुग्ने अपेक्षा गरिएको छ। वास्तवमा यो नियुक्ति केवल एक व्यक्तिको सम्मान मात्र होइन, सुदूरपश्चिमको भाषा, साहित्य र संस्कृतिका लागि समर्पित सम्पूर्ण साधनाको सम्मान पनि हो।


Loading Viewer...

ताजा समाचार

spot_img