१३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसः श्रमिक हक–हित र सामाजिक सुरक्षामा जोड


कञ्चनपुर : “श्रमिकको सम्मान, हाम्रो अभियान” भन्ने नारासहित कञ्चनपुरमा १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ। दिवसका अवसरमा श्रमिकको हक–हित संरक्षण, मर्यादित काम, सामाजिक सुरक्षा र श्रमिकमैत्री नीति निर्माणका विषयमा पालिकास्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएका छन्।

राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपाल र एक्सन एड नेपाल को संयुक्त साझेदारीमा सञ्चालित ‘परिश्रम’ परियोजना अन्तर्गत राष्ट्रिय मुक्त हलिया समाज कञ्चनपुरले शुक्लाफाँटा नगरपालिका–१० खल्ला बस्ती, बेदकोट नगरपालिका–सुडाँ तथा भीमदत्त नगरपालिका–८ र १० मा मुक्त हलिया परिवार र विपन्न श्रमिकबीच छुट्टाछुट्टै अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो। राष्ट्रिय मुक्त हलिया समाज कञ्चनपुरका अध्यक्ष शिवी लुहार को अध्यक्षतामा सम्पन्न कार्यक्रममा मजदुर, मुक्त हलिया अगुवा, बुद्धिजीवी, समाजसेवी, सञ्चारकर्मी तथा अधिकारकर्मीहरूको सहभागिता रहेको थियो। दिवसका अवसरमा र्‍यालीसहित अन्तरक्रिया कार्यक्रममार्फत श्रमिकका अधिकारबारे जानकारी गराइएको थियो।

कार्यक्रममा अध्यक्ष लुहारले सरकारले तोकेको न्यूनतम ज्यालाभन्दा कम पारिश्रमिकमा काम गर्न नपर्नेमा जोड दिँदै रोजगारदातासँग काम सुरु गर्नुअघि सुरक्षा सामग्रीको व्यवस्था, बीमा, हाजिरी र नियुक्तिपत्रको माग गर्नुपर्ने बताउनुभयो। “श्रमसँगै रोजगारी सिर्जना गर्ने कार्यमा सबैलाई जोड्ने प्रयासमा छौँ, मजदुरलाई सीपमूलक कार्यक्रममा जोड्नु हाम्रो लक्ष्य हो,” उहाँले भन्नुभयो। राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपालका हलिया अभियन्ता गणेश ताम्राकार ले श्रमिक अधिकार सुनिश्चित गर्न राज्य र सरोकारवाला निकायबीच समन्वय आवश्यक रहेको उल्लेख गर्नुभयो।

अन्तरक्रियामा सहभागी भीमदत्त नगरपालिका–८ की राजमती दमाईले स्थानीय किसानको खेतमा धान काटेको ज्याला अझै नपाएको गुनासो गर्नुभयो। “डेढ विघाको सट्टा तीन विघा धान काट्यौँ, तर पारिश्रमिक पाएका छैनौँ,” उहाँले भन्नुभयो। त्यस्तै, शुक्लाफाँटा–१० की गोमा दमाईले सरकारले तोकेको रु ७५५ न्यूनतम ज्यालाभन्दा कममा काम गर्न बाध्य भएको बताउनुभयो। “हामीले अझै पनि रु ६०० भन्दा कममै काम गर्नुपरेको छ,” उहाँको भनाइ थियो।

निलम दमाईले दुई वर्षअघि नदीमा तटबन्ध निर्माणमा काम गरेको ज्याला अझै नपाएको गुनासो गर्नुभयो। साथै भीमदत्त नगरपालिका–१० का मुक्त हलिया परिवारहरूले शिक्षा, स्वास्थ्य, रोजगारी, सडक, विद्युत् र सिँचाइ जस्ता आधारभूत सेवाबाट वञ्चित रहँदै आएको बताएका छन्। दिवसका अवसरमा श्रमिकहरूको समस्या उजागर गर्दै उनीहरूको अधिकार सुनिश्चित गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको आयोजकले जनाएको छ।


ताजा समाचार

spot_img