कञ्चनपुर : कञ्चनपुर जिल्लामा लागूऔषध नियन्त्रण अभियानलाई तीव्र बनाउँदै प्रहरीले विभिन्न स्थानबाट ६ जनालाई खैरो हेरोइन जस्तो देखिने पदार्थसहित पक्राउ गरेको छ। पछिल्लो समय लागूऔषध दुर्व्यसन र ओसारपसार बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै निगरानी र कारबाही बढाइएको प्रहरीले जनाएको छ। जिल्लाको बेलौरी नगरपालिका–१० स्थित सडकघाट क्षेत्रमा शंका लागेर गरिएको चेकजाँचका क्रममा तीन जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा पुनर्वास नगरपालिका–३ का २४ वर्षीय विजय गिरी, पुनर्वास नगरपालिका–७ का २१ वर्षीय अमन तामाङ र २४ वर्षीय रोहन विक रहेका छन्। विजय गिरीले चलाएको सुप्र ०१–०१३ प २६८१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूको साथबाट २ ग्राम १८० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ र ५ वटा ट्रमाडोल क्याप्सुल बरामद गरिएको प्रहरीले जनाएको छ। उक्त मोटरसाइकलसहित तीनै जनालाई शनिबार बेलुका नियन्त्रणमा लिइएको हो। त्यसैगरी, पुनर्वास नगरपालिका–५ पैसठ्ठी बिघा क्षेत्रमा प्रदेश ३–०८२ प १११ नम्बरको मोटरसाइकल जाँच गर्दा चालक २० वर्षीय रोहन तामाङ र पछाडि सवार २२ वर्षीय बिरेन्द्र रानाको साथबाट ८ ग्राम ४३० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ बरामद गरिएको छ।

उनीहरूलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। यसै क्रममा कृष्णपुर नगरपालिका–८ राजघाटबाट ३१ वर्षीय अनिल रानालाई ५८ मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरी चौकी भुँडा, इलाका प्रहरी कार्यालय रैकवार, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी तथा लागूऔषध नियन्त्रण ब्युरो महेन्द्रनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार पक्राउ परेका सबै व्यक्तिमाथि लागूऔषध सम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको छ।







