पप्पु गुरुङ्ग, कञ्चनपुर । मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण कार्यमा सक्रिय संस्था माईती नेपाल कञ्चनपुरले आफ्नो वार्षिक उत्सवको अवसरमा कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा महिला स्वयमसेविकाहरुलाई अनुशिक्षण सम्पन्न गरेको छ् । माईती नेपाल कञ्चनपुरले आफ्नो ३४ औं वार्षिक उत्सवको अवसर पारेर दोधारा चाँदनी नगरपालिकाको वडा नंं २ वडा कार्यालयको सभा कक्षमा महिला स्वयमविकालाई मानव बेचबिखन तथा ओसार पसार नियन्त्रणका लागी अनुशिक्षण सम्पन्न गरेको माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले जानकारी दिनुभएको छ् । मानव बेचबिखन बिरुद्ध महिला स्वयमसेविका मार्फत समुदाय स्तर सम्म चेतना अभिबृद्धि गर्ने उद्धेश्यले माईती नेपालको ३४ औं वार्षिक उत्सवको अवसर पारेर महिला स्वयमसेविकाहरुलाई अनुशिक्षणको आयोजना गरिएको संयोजक महेश्वरी भट्टले बताउनुभयो ।


कार्यक्रममा मानव वेचविखन हुन सक्ने स्थान, तौरतरीका, प्रयोजन तथा कारण तथा कानुनी उपचारको बारेमा महिला स्वयमसेविकाहरुलाई अनुशिक्षण गराईएको माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताउनुभएको छ् । मानव बेचबिखन भन्नाले कुनै पनि उद्देश्यले मानिस बेच्ने वा किन्ने, कुनै प्रकारको फाईदा लिई वा नलिई वेश्यावृत्तिमा लगाउने वा सोका लागी अन्य मुलुकमा बिक्रि गर्ने, प्रचलित कानून बमोजिम बाहेक झुक्याएर अंग झिक्ने र वेश्यागमन गर्ने कार्यलाई मानव बेच–बिखन भएको र यसका कानुनी उपचारको बारेमा जानकारी गराईएको उहाँले बताउनुभयो ।

कार्यक्रममा बोल्दै दोधारा चाँदनी नगरपालिका वडा नं. २ वडाध्यक्ष पदम रावलले दोधारा चाँदनी नगरपालिका क्षेत्र भारत संग जोडिएको झण्डै २३ किलोमिटर खुला सिमा क्षेत्र भएको हुदा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागी सबैलाई सचेत पार्नु अपरिहार्य रहेको बताउनुभएको छ् । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा माईती नेपालले मानव बेचबिखन रोक्न बिगतका दिनहरु देखि उल्लेखनिय कार्य गर्दै आएको बताउदै आगामी दिनहरुमा संस्थाले सिमा क्षेत्रमा थप जनचेतनामुलक कार्यक्रम गर्नु पर्ने आवश्यक देखिएको वडाध्यक्ष रावलले बताउनुभयो ।

माईती नेपाल कञ्चनपुरले मुख्य मुख्य नाकामा सुचना तथा परामर्श केन्द्र स्थापना गरि जोखिमपुर्ण यात्रामा रहेका महिला तथा वालवालिकाहरुको उद्धार, भारत लगाएतका देश बिदेशहरुमा यौन एवं श्रम शोषणमा परेका महिला वालवालिकाहरुको उद्धार, आवाशिय सेवा, मनोसामाजिक परामर्श, कानुनी सहायता, स्वास्थ्य सेवा लगाएतका सेवा प्रदान गर्दै सिपमुलक तालिम सहित परिवार र समाजमा पुर्नमिलन लगाएतका कार्य गर्दै आईरहेको छ् ।






