चौथो दम्माम च्याम्पियन कप: युनाइटेड एफसीलाई उपाधि

चौथो दम्माम च्याम्पियन कपको उपाधि युनाइटेड एफसीले जित्यो तर नेपालगन्ज एफसीको किन असन्तुष्टि?


दम्माम, साउदी : अरब साउदी अरबको पूर्वी प्रान्त दम्माममा सम्पन्न ‘चौथो दम्माम च्याम्पियन कप–२०२६’ को उपाधि युनाइटेड फुटबल क्लब (युनाइटेड एफसी) ले जितेको छ।

युनाइटेड नेपाल फुटबल क्लब दम्मामद्वारा आयोजित प्रतियोगिताको फाइनल खेलमा नेपालगन्ज फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै युनाइटेडले उपाधि हात पारेको हो । गत १९ मार्चदेखि सुरु भएको प्रतियोगितामा साउदी अरबका विभिन्न क्षेत्रबाट १६ नेपाली फुटबल टोलीहरूको सहभागिता रहेको थियो ।अत्यन्तै प्रतिस्पर्धात्मक फाइनल खेलमा युनाइटेड एफसीले उत्कृष्ट खेल प्रदर्शन गर्दै विजेता बनेको आयोजकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । प्रतियोगितामा नेपालगन्ज एफसी उपविजेतामा चित्त बुझाउन बाध्य भयो भने लिम्बुवान फुटबल क्लबले ‘फेयर–प्ले टिम’ को उपाधि जितेको छ।

प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको घोषणा गरिए तापनि फाइनल खेलमा देखिएको प्राविधिक त्रुटिले केही समय अन्योलता सिर्जना गरेको थियो । प्रतियोगिताका अघिल्ला खेलहरू ५० मिनेटको समय सीमामा खेलाइएको भए पनि फाइनल खेलमा समय बढाएर ६० मिनेट पुर्‍याउने निर्णय भएपछि रेफ्रीमा अन्योल देखिएको थियो ।

रेफ्रीले उक्त प्राविधिक त्रुटिप्रति माफी मागेका छन् भने आयोजकले पनि सो विषयमा समन्वयको प्रयास गरिएको जनाएको छ । उपाधि छिनोफानो भए पनि उपविजेता टोली नेपालगन्ज फुटबल क्लबले खेल सञ्चालनप्रति गम्भीर असन्तुष्टि जनाएको छ।नेपालगन्ज एफसीले आयोजक युनाइटेड एफसीलाई औपचारिक पत्र लेख्दै फाइनल खेल सञ्चालनमा गम्भीर त्रुटि भएको र कतिपय निर्णयहरू नियमविपरीत भएको आरोप लगाएको छ । यसैबीच, खेलको दौरान मैदानभित्र र बाहिर केही खेलाडी तथा समर्थकबाट अनुशासनविपरीतका गतिविधि भएको भन्दै आयोजकले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आयोजक समितिले आगामी दिनमा यस्ता कमीकमजोरीबाट पाठ सिक्दै प्रतियोगितालाई थप व्यवस्थित, निष्पक्ष र अनुशासित बनाउने प्रतिबद्धता व्यक्त गरेको छ । प्रवासमा रहेका नेपालीहरूबीच आपसी भाइचारा, एकता र खेलकुदप्रतिको मोहलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित यस प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने सबैलाई आयोजकले धन्यवाद ज्ञापन गरेको छ।

यस्तो छ जारी विज्ञप्ति:

 


ताजा समाचार

spot_img