कञ्चनपुर : कञ्चनपुरको महेन्द्रनगरमा रहेको महाकाली मोर्डन पब्लिक स्कुलमा फुड फेस्टिभल सम्पन्न भएको छ। भीमदत्त नगरपालिका–३, भाँसीस्थित उक्त विद्यालयमा सोमबार फुड फेस्टिभल आयोजना गरिएको हो। विद्यालयका प्रिन्सिपल दिजराज भट्टले विद्यार्थीहरूमा रहेको अन्तरनिहित क्षमताको विकास गर्न कार्यक्रम आयोजना गरिएको बताए। कार्यक्रममा विद्यार्थीहरूले आफ्नै प्रयासमा विभिन्न खाद्य परिकार तयार गर्नुका साथै विज्ञान, कला र खेलसम्बन्धी प्रस्तुति दिएका थिए।

कार्यक्रमका प्रमुख अतिथि तथा भीमदत्त नगरपालिका शिक्षा शाखा प्रमुख हरिदत्त जोशीले विद्यालयको प्रयास सराहनीय रहेको बताए। उनले यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई किताबसँगै वास्तविक जीवनका चुनौतीसँग जुध्न सिकाउने उल्लेख गरे। सो अवसरमा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई सम्मान तथा प्रमाणपत्र वितरण गरिएको थियो। साथै विद्यार्थी भाइबहिनीहरूले विभिन्न सांस्कृतिक नृत्य, गायन लगायतका कला प्रस्तुत गरी आफ्ना प्रतिभा प्रदर्शन गरेका थिए।

महाकाली मोर्डन पब्लिक स्कुलका अध्यक्ष हर्क बहादुर धामीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका अर्थशास्त्र विषयका शिक्षक उमेश पाण्डेयले दिएका थिए। कार्यक्रममा विद्यार्थी, शिक्षक, कर्मचारी तथा अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो भने कार्यक्रम सञ्चालन महेश विष्टले गरेका थिए।







