निर्वाचन क्षेत्र नं २ मा स्वच्छ र निष्पक्ष निर्वाचनका लागि आचारसंहिता पालना गर्ने प्रतिबद्धता

कञ्चनपुर : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई भयरहित, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न कञ्चनपुरका राजनीतिक दल, उम्मेदवार लगायतका सरोकारवालाहरुले आचार संहिता अक्षरशः पालना गर्ने प्रतिवद्धता जनाएका छन । झलारीमा प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं २ को कार्यालयले आयोजना गरेको निर्वाचन आचार संहिता २०८२ को कार्यान्वय र पालना सम्बन्धी अन्तक्र्रिया कार्यक्रमका सहभागी प्रशासन, सुरक्षा निकाय, निर्वाचन अधिकारी, राजनीतिक दल, उम्मेदवारहरु र जनप्रतिनिधिहरूले स्वच्छ निर्वाचन लोकतन्त्रको आधार भएकाले यसको सफलताका लागि सबै पक्षको सहकार्य अपरिहार्य रहेकोमा एकमत जनाएका हुन् ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले निर्वाचन हुने विषयमा ढुक्क रहन सबैलाई आग्रह गर्नुभयो। निर्वाचनका लागि आवश्यक पूर्वतयारीका सबै काम पूरा भइसकेको जानकारी दिँदै उहाँले निर्वाचनलाई भयरहित र शान्तिपूर्ण बनाउन सुरक्षा निकायका तीनै अंग परिचालन भइसकेको बताउनुभयो । “सुरक्षाको विषयमा चिन्ता गर्नुपर्ने अवस्था छैन,” उहाँले भन्नुभयो, “कुनै पनि घटना घट्दै गरेको जानकारी प्राप्त भएमा तत्काल सुरक्षा निकाय परिचालन गर्ने व्यवस्था गरिएको छ ।” प्रमुख जिल्ला अधिकारी कोइरालाले सामाजिक सञ्जालमार्फत घृणा फैलाउने, भ्रम सिर्जना गर्ने, बदनाम गर्ने गतिविधि नियन्त्रणका लागि प्रहरी र नेपाली सेनाको साइबर युनिट सक्रिय रूपमा निगरानीमा रहेको र आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइने स्पष्ट पार्नुभयो।

उहाँले सरकारी सवारी साधनको दुरुपयोग नगर्न सचेत गराउँदै भन्नुभयो, “सरकारी सवारी साधन सरकारी कामका लागि मात्र प्रयोग हुनुपर्छ, उम्मेदवारको प्रचार–प्रसारमा सरकारी सवारी साधन प्रयोग गर्नु आचारसंहिता उल्लङ्घन हो।” जिल्लाका मुख्य निर्वाचन अधिकृत राजेन्द्रसिंह भण्डारीले निर्वाचनको विकल्प निर्वाचन नै भएकाले सबै पक्षको सहकार्यमा स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्नु सबैको साझा दायित्व भएको बताउनुभयो । सभ्य समाज निर्माणका लागि सामाजिक शिष्टाचार जोगाउन आचारसंहिता पालना अनिवार्य रहेको उहाँको भनाइ थियो । हालसम्म निर्वाचन कार्यालयमा गम्भीर प्रकृतिका आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरी नआएको जानकारी दिँदै उहाँले उल्लङ्घन भएमा उजुरी दिन सबैलाई आह्वान गर्नुभयो ।

निर्वाचन क्षेत्र नं. २ का निर्वाचन अधिकृत प्रकाशबहादुर भण्डारीले निर्वाचनमा सहभागी सबै पक्षसँग सहकार्य गर्दै अघि बढ्न आफूहरू इच्छुक रहेको बताउनुभयो । “निर्वाचन आचारसंहिता उल्लङ्घन हुने कुनै पनि गतिविधि गर्नु हुँदैन, गर्न पाईदैन,” उहाँले भन्नुभयो, “प्रचार–प्रसारका कार्यक्रम शान्तिपूर्ण र मर्यादित ढंगले सञ्चालन हुनुपर्छ ।” जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका निर्वाचन अधिकारी हरिश्चन्द्र जोशीले अधिकांश निर्वाचन पूर्वतयारीका काम सम्पन्न भइसकेको जानकारी दिनुभयो । उहाँका अनुसार मतदाता नामावली संकलन, अध्यावधिक तथा प्रकाशन, मतदान स्थल र मतदान केन्द्रको पुनरावलोकन, निर्वाचन सामग्रीको मौज्दात यकिन गरी आवश्यक खरिद प्रक्रिया लगायतका कार्य पूरा भएका छन्।

यसैगरी, प्रत्यक्ष तथा समानुपातिक तर्फ उम्मेदवार मनोनयन दर्ता, निर्वाचनसम्बन्धी ऐन, नियम र निर्देशिकाको निर्माण तथा प्रकाशनको काम सम्पन्न भइसकेको उहाँले जानकारी दिनुभयो । मतदाता शिक्षा कार्यक्रम, निर्वाचन प्रचार–प्रसार अवधि, मतदान केन्द्रमा खटिने कर्मचारीको नियुक्ति तथा तालिम, मतदान अधिकृतलाई सामग्री हस्तान्तरण, मतदान स्थलतर्फ प्रस्थान र मतदाता परिचय पत्र वितरणका लागि आवश्यक तयारी भइरहेको उहाँले उल्लेख गर्नुभयो। उहाँले उम्मेदवारहरूले गर्न पाउने निर्वाचन खर्चको सीमाबारे जानकारी दिँदै समानुपातिकतर्फ दलहरूले पेश गरेको बन्द सूचीमा सूचीकृत संख्याका आधारमा प्रति उम्मेदवार दुई लाख रुपैयाँसम्म खर्च गर्न पाउने व्यवस्था रहेको बताउनुभयो ।

उहाँका अनुसार, प्रत्यक्षतर्फ प्रतिनिधि सभा सदस्यका लागि भने मतदाता संख्या, निर्वाचन क्षेत्रको क्षेत्रफल र मतदान केन्द्रको आधारमा खर्च सीमा निर्धारण गरिएको छ । “मतदाताको संख्यालाई ६० प्रतिशत, मतदान केन्द्र संख्या, निर्वाचन केन्द्र संख्या र निर्वाचन क्षेत्रले ओगटेको क्षेत्रलाई २०/२० प्रतिशत भार दिइएको छ,” उहाँले भन्नुभयो । यस आधारमा निर्वाचन खर्चको सीमा रु २५ लाख, रु २७ लाख, रु २९ लाख, रु ३१ लाख र रु ३३ लाखका समूहमा वर्गीकरण गरिएको छ । कञ्चनपुर जिल्लाका तीनै निर्वाचन क्षेत्रका उम्मेदवारहरू २९ लाख रुपैयाँसम्म खर्च गर्न पाउने व्यवस्थाभित्र पर्ने उहाँले जानकारी दिनुभयो । उहाँले निर्वाचन प्रचार प्रसारका क्रममा राजनीतिक दल,उम्मेदवार,भातृ संगठन तथा सम्बन्धीत व्यक्तिले पालना गर्नु पर्ने आचरण बारे कार्यक्रमका सहभागीहरुलाई जानकारी गराउनु भएको थियो ।

कोष तथा लेखा नियन्त्रक कार्यालय महेन्द्रनगरका कोष तथा लेखा नियन्त्रक कृष्णबहादुर धामीले उम्मेदवारहरूले क, ख र ग वर्गका वित्तीय संस्थामा छुट्टै बैंक खाता खोली सोही खाता मार्फत मात्र खर्च गर्नुपर्ने कानुनी प्रावधान रहेको बताउनु भयो। उहाँका अनुसार उम्मेदवारले आफ्नो तर्फबाट खर्च गर्ने जिम्मेवार अधिकारी तोकी नामनामेसी विवरण निर्वाचन अधिकृतको कार्यालयमा पेश गर्नुपर्छ । “रु२५ हजार सम्म नगद खर्च गर्न पाइन्छ, त्यसका लागि नगद रसिद अनिवार्य हुन्छ,” उहाँले भन्नुभयो, “रु२५ हजार भन्दा माथिको रकम भने वित्तीय संस्थामार्फत मात्र कारोबार गर्नुपर्छ ।”

कार्यक्रममा सहभागी राजनीतिक दलका प्रतिनिधिहरूले सरकारी सवारी साधनको दुरुपयोग रोक्नुपर्ने, उम्मेदवार तथा जनप्रतिनिधिको सुरक्षाको सुनिश्चितता गर्नुपर्ने, सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्नुपर्ने र मतदाताले स्वविवेकले मतदान गर्न पाउने वातावरण कायम गर्नुपर्ने माग गरेका थिए ।
कार्यक्रममा जिल्लास्थित सुरक्षा निकायका प्रमुख, बेदकोट, शुक्लाफाँटा र कृष्णपुर नगरपालिकाका नगर प्रमुख तथा उपप्रमुख, वडा अध्यक्ष, राजनीतिक दलका प्रतिनिधि, उम्मेदवार लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमका सहभागीहरुले कार्यक्रममा निर्वाचन आचारसंहिता अक्षरशः पालना गर्ने प्रतिबद्धता जनाएका थिए ।

ताजा समाचार

spot_img