धनगढी: दलित क्वीयर समुदाय सवलीकरणका लागि क्षमता विकास कार्यशाला गोष्ठीको आयोजना गरिएको छ।

सुदूरपश्चिम प्रदेशको धनगढीमा दलित क्वीयर समुदायको सवलीकरण तथा आयआर्जन क्षमता अभिवृद्धि गर्ने उद्देश्यले एक दिने क्षमता विकास कार्यशाला गोष्ठी सम्पन्न भएको हो।

सोमबार धनगढीस्थित होटेल सुनगाभाको सभाहलमा सम्पन्न उक्त कार्यशाला गोष्ठी सामरी उत्थान सेवाको आयोजनामा गरिएको हो। दलित फ्रीडम सेन्टर सुदूरपश्चिम प्रदेशका सुदूरपश्चिम संयोजक मनिष बी.क. (जेरी) ले दलित क्वीयर समुदायको सवलीकरण तथा संस्थागत क्षमता विकासका लागि कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो।

कार्यशाला गोष्ठीमा संस्थाले हालसम्म गरेका गतिविधिहरू लगायतको बारेमा प्रस्तुतीकरण बिमला गायकले गर्नुभएको थियो। उहाँका अनुसार, सामरी उत्थान सेवा हाल सुदूरपश्चिमसहित ६ वटा प्रदेशमा सक्रिय रूपमा कार्य गर्दै आएको छ भने गण्डकी प्रदेशमा तत्काल कार्यालय स्थापना नभएको बताउनुभयो। संस्थाले सहकारी सञ्चालन, समावेशीकरण प्रवर्द्धन लगायतका कार्यक्रममार्फत समुदाय सशक्तीकरणमा योगदान दिँदै आएको छ।
सामरी उत्थान सेवाले दिगो तथा उत्थानशील जीविकोपार्जन, मानव अधिकार तथा सामाजिक न्याय, मनोसामाजिक स्वास्थ्य र कल्याण तथा संस्थागत विकासका क्षेत्रमा काम गर्दै आएको छ। सन् २०२३ देखि संस्थाले विशेष रूपमा दलित क्वीयर समुदायका मुद्दामा केन्द्रित भई कार्य गर्न थालेको जनाएको छ।
संस्थाले जनचेतनामूलक कार्यक्रमहरू विभिन्न क्याम्पस तथा सरोकारवाला निकायहरूसँग समन्वय गरी अगाडि बढाउँदै आएको समेत जानकारी गराइएको थियो। दलित क्वीयर समुदायका सदस्यहरू तथा सामरी उत्थान सेवा र दलित फ्रीडम सेन्टरका पदाधिकारीहरूको उपस्थितिमा सम्पन्न उक्त कार्यशालाले समुदाय सवलीकरणमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।







