रमेश प्रसाद भट्ट/कञ्चनपुर- रास्वापाले टुंग्यायाे कञ्चनपुरका ३ वटै क्षेत्रका उम्मेदवार, क्षेत्र नम्बर-२ बाट बाेहरा सिफारिस
रमेश प्रसाद भट्ट/कञ्चनपुर- आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले कञ्चनपुरका ३ वटै क्षेत्रबाट उम्मेदवारकाे टुंगो लगाएकाे छ ।

यस अघि जिल्लाका क्षेत्र नम्बर- १ र ३ बाट उम्मेदवारकाे टुंगो लगाएकाे रास्वपाले बुधबार क्षेत्र नम्बर-२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य तथा सचिवालय सदस्य दिपक बाेहरालाई सर्वसम्मत प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि सिफारिस गरेकाे हाे । आज रास्वपाकाे शुक्लाफाटा नगर समितिकाे कार्यालयमा सम्पन्न निर्वाचन क्षेत्र समिति र पालिका सभापतिहरूको संयुक्त बैठकले बोहरालाई एकल उम्मेदवारका रूपमा सिफारिस गर्ने निर्णय गरेको निर्वाचन क्षेत्र समिति २ का सभापति गणेश खड्काले बताए ।

बैठकमा पार्टीका स्थानीय नेतृत्वको उल्लेखनीय सहभागिता रहेको थियो। दुई दशकभन्दा लामो समय पत्रकारिता क्षेत्रमा सक्रिय रहँदै आएका बोहरा निडर, तथ्यपरक र जनपक्षीय पत्रकारका रूपमा परिचित छन्। सञ्चार माध्यममार्फत सुशासन, पारदर्शिता र जनअधिकारका पक्षमा निरन्तर आवाज उठाउँदै आएका उनले नागरिकको भरोसा जित्दै आएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधविरुद्ध बोहराले नेतृत्वदायी भूमिका निर्वाह गर्दै ४० लाखभन्दा बढी नागरिकको हस्ताक्षर संकलन अभियान सफलतापूर्वक सञ्चालन गरेका थिए। उक्त अभियानलाई उनले केवल व्यक्ति होइन, वैकल्पिक राजनीति र जनमतको संरक्षणका रूपमा अघि बढाएका थिए, जसले राष्ट्रियस्तरमा व्यापक ध्यानाकर्षण गराएको थियो।
पार्टीका अनुसार बोहराको उम्मेदवारी पुरानो सत्ता–केन्द्रित राजनीति, दबाब र डरको संस्कृतिविरुद्ध जनताको स्पष्ट अभिव्यक्ति हो। पत्रकारितामार्फत देखाएको साहस, संगठन निर्माणमा देखाएको प्रतिबद्धता र जनआन्दोलनमा खेलेको भूमिकाका आधारमा कञ्चनपुर–२ का लागि उनी उपयुक्त प्रतिनिधि भएको निष्कर्ष बैठकले निकालेको छ।
रास्वपाले कञ्चनपुर क्षेत्र नम्बर २ मा इमानदार, जवाफदेही र जनमुखी प्रतिनिधित्व सुनिश्चित गर्न बोहराको उम्मेदवारी निर्णायक हुने विश्वास व्यक्त गरेको छ।यस अघि रास्वापा कञ्चनपुर क्षेत्र नम्बर १ मा जनक सिह धामी,र क्षेत्र नम्बर २ मा ज्ञानेन्द्र सिह महताकाे निर्विरोध सिफारिस भईसकेका छन ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काे अभियान तथा प्रचार प्रसार विभागका केन्द्रीय सदस्य समेत रहेका नेता जनक सिंह धामिले रास्वपाकाे सुदूरपश्चिममा संगठन निर्माण देखिन पार्टी र जनताकाे पक्षमा रहेर काम गर्दै आईरहेका नेता हुन । जनताकाे समाजिक काममा सधै अग्रसर भएर काम गर्ने उनी सरल स्वभावका नेता मानिन्छन् ।
यस्तै क्षेत्र नम्बर-३ बाट सिफारिस भएका सुदूरपश्चिम प्रदेशका पूर्व इन्चार्ज तथा विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभागका केन्द्रीय सचिव ज्ञानेन्द्र सिंह महता सधैँ जनताको बीचमा उभिने र जनताकाे आवाज बाेल्ने प्रष्ट वक्ता रूपमा परिचित छन। लामो समयदेखि सञ्चार र सामाजिक अभियान मार्फत राज्यले बेवास्ता गर्दै आएको सुदूरपश्चिमको आवाज राष्ट्रिय बहसको केन्द्रमा पुर्याउँदै आएका महता जवाफदेही शासन, पारदर्शी नीति र प्रविधिमैत्री राज्यका स्पष्ट पक्षधर हुन्।






