झलारी : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ स्थित सिद्धभीम आधारभूत विद्यालयमा अध्ययनरत ७४ जना विद्यार्थीलाई बिहीबार न्यानो लुगा वितरण गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण कार्यालयको सिफारिसमा सेभ द चिल्ड्रेन सुर्खेतले विद्यालयमा कक्षा १ देखि ५ सम्म अध्ययनरत बालबालिकालाई जाडोबाट बच्न न्यानो लुगा थर्मस लगायतका सामग्री उपलब्ध गराएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवराज भट्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शुक्लाफाँटा नगरपालिकाका उपप्रमुख कल्पना पन्तले विद्यार्थीलाई सामग्री हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा प्रत्येक विद्यार्थीलाई ज्याकेट, स्वेटर, ट्राउजर, थर्मस, टोपी, स्कार्फ, पञ्जा, मोजा, गलबन्दी र भेष्टलगायतका न्यानो सामग्री प्रदान गरिएको थियो । कार्यक्रममा उपप्रमुख पन्तले नगरपालिकाले विभिन्न संघसंस्थासँग सहकार्य गरी विपन्न बालबालिकालाई लक्षित गर्दै राहतका कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो । “यस वर्ष नगरपालिकाका ८ वटा वडाका ३०६ जना विपन्न विद्यार्थीका लागि न्यानो लुगा उपलब्ध भएको छ,“ उहाँले भन्नुभयो, “शीतलहर र चिसोबाट बालबालिकालाई जोगाउन यो सहयोगले महत्वपूर्ण भूमिका खेल्नेछ ।“ वडा नं. ११ का अध्यक्ष शेरबहादुर साउँदले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि वडा कार्यालयले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले बालबालिकाको शिक्षामा अभिभावक र शिक्षक दुवै उत्तिकै जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो । विद्यालयका प्रधानाध्यापक गणेश प्रसाद पन्तले उपप्रमुखको पहलमा प्राप्त सहयोगले चिसोका कारण विद्यार्थीले बीचमै विद्यालय छाड्ने (ड्रपआउट) र अनियमित हुने समस्या न्यूनीकरण हुने विश्वास व्यक्त गर्नुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भट्टले दलित, जनजाति र विपन्न समुदायका बालबालिकाको पठनपाठनमा यो सहयोगले ठूलो टेवा पुग्ने बताउनुभयो । शिक्षक पदम रावलले सञ्चालन गर्नुभएको कार्यक्रममा जनप्रतिनिधि, शिक्षक, अभिभावक र विद्यार्थीको सहभागिता रहेको थियो ।







