महेन्द्रनगर : प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा कञ्चनपुर जिल्ला इन्चार्ज देवराज सावदले भीमदत्त नगरपालिका–१८ जानकी टोलस्थित अमर शहीद आधारभूत विद्यालयमा अध्ययनरत फरक क्षमताका बालबालिकालाई खाजा तथा फलफूल वितरण गरेका छन्। विद्यालयमा विशेष शिक्षाअन्तर्गत अध्ययनरत फरक क्षमता भएका बालबालिकालाई बिहीबार दिउँसो खाजा खुवाइँएको हो। सामाजिक कार्यअन्तर्गत विद्यालयमा रहेका बालबालिकालाई खाजासँगै फलफूल वितरण गरिएको केन्द्रीय सदस्य सावदले बताए।

पुसेलो डट कमका प्रधान सम्पादकसमेत रहेका सावद सामाजिक तथा मानवीय कार्यमा सक्रिय रहँदै आएका छन्। उनले फरक क्षमताका बालबालिकाको शिक्षा, स्वास्थ्य र पोषणमा सबै पक्षको साझा दायित्व रहेको उल्लेख गर्दै यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। कक्षा ५ सम्म अध्यापन हुने अमर शहीद आधारभूत विद्यालयमा हाल ३३ जना फरक क्षमताका बालबालिका अध्ययनरत छन्।

विशेष शिक्षा अध्यापनका लागि विद्यालयमा पाँच जना कर्मचारी कार्यरत छन्। तीमध्ये दुई जना स्थायी दरबन्दी, दुई जना भीमदत्त नगरपालिकाको अनुदानमा तथा एक जना नेपाल सरकारको अनुदानमा कार्यरत छन्। विशेष शिक्षा अध्यापन २०५३ सालदेखि निङ्गलाशैनी माध्यमिक विद्यालयबाट सुरु गरिएको थियो। नेपाल सरकारको निर्णयअनुसार २०७६ सालमा उक्त कार्यक्रम अमर शहीद आधारभूत विद्यालयमा स्थानान्तरण गरिएको हो।







