कञ्चनपुर : कठयाङग्रीदो चिसो बढ्दै गएपछि शुक्लाफाँटा नगरपालिका–१० ले गैरसरकारी संस्थासँगको सहकार्यमा अति विपन्न परिवारलाई आज न्यानो कम्बल निःशुल्क वितरण गरेको छ । वडा नम्बर १० अन्तर्गत पर्ने खल्ला टोल र मुक्त कमैया शिविरमा बसोबास गर्ने अति विपन्न परिवारलाई लक्षित गरी कम्बल वितरण गरिएको हो । एनएनएस डब्लुए नामक गैरसरकारी संस्थाको सहयोगमा २५ जना अति विपन्न व्यक्तिलाई न्यानो कम्बल वितरण गरिएको वडा अध्यक्ष लालबहादुर ऐरले जानकारी दिनुभयो ।

वडा अध्यक्ष ऐरका अनुसार जाडो याममा अत्यधिक चिसोका कारण जोखिममा रहेका विपन्न परिवारलाई राहत पु¥याउने उद्देश्यले कम्बल वितरण गरिएको छ ।“चिसो बढ्दै गएपछि आर्थिक रूपमा कमजोर परिवारलाई न्यानो कपडाको अभाव देखिएकाले गैरसरकारी संस्थासँग सहकार्य गरी कम्बल वितरण गरेका हौँ,” उहाँले भन्नुभयो । कम्बल पाएपछि स्थानीय बासिन्दाले खुसी व्यक्त गरेका छन् । मुक्त कमंैया शिविरका सिता डगौराले चिसो मौसममा न्यानो कम्बल पाएपछि राहत महसुस भएको बताउनुभयो ।

“जाडो धेरै बढेको थियो, कम्बल नहुँदा रात बिताउन गाह्रो हुन्थ्यो,” उहाँले भन्नुभयो, “न्यानो कम्बल पाएपछि अब चिसोबाट जोगिन सजिलो हुने भयो ।” शिविरका बासिन्दाले लामो समयदेखि चिसो मौसममा न्यानो कपडाको अभाव झेल्दै आएका थिए । वडाले आगामी दिनमा पनि अति विपन्न, असहाय र जोखिममा रहेका परिवारलाई लक्षित गरी राहत तथा सहयोगका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।







