महेन्द्रनगर : नेत्र ज्योती संघ कञ्चनपुरद्धारा सञ्चालित महेन्द्रनगर आँखा अस्पतालमा सेवाग्राहीको चाप बढ्दो छ । अस्पतालले गत आर्थिक वर्षमा मात्रै २४ हजार सात सय ८० जनालाई सेवा दिएको छ । अस्पतालले आर्थिक वर्ष २०८१।८२ मा उक्त सेवाग्राहीलाई आँखा चेकजाँच तथा उपचार सम्बन्धि सेवा दिएको हो । अस्पतालको तथ्याङ्क अनुसार ओ.पि.डी.मा भर्ना भएको मध्ये मोतियाँ बिन्दुसहित छ सय ३४ जना बिरामीको शल्यक्रिया गरिएको छ । त्यस्तै पाँच हजार चार सय १३ जनालाई चस्मा वितरण गरिएको आँखा अस्पताल महेन्द्रनगरका प्रमुख नेत्र अधिकृत बिर सिंह धामीले बताए । उनका अनुसार अस्पतालमा सेवा प्रभावकारी बनेसँगै बिरामीको चाप पनि बढेको छ । २०४२ सालमा आँखा उपचार केन्द्रको रुपमा स्थापना भएकोमा २०७० मा स्तरोन्नोती हुदैँ १० शैयाको आँखा अस्पताल स्थापना गरिएको थियो । अस्पताले वर्षेनी हजारौँ नेपाली सहित भारतीय नागरिकलाई समेत सेवा दिदैँ आएको छ ।

गत आर्थिक वर्षमा एक हजार छ सय ६७ जना भारतीय नागरिकले अस्पतालबाट सेवा लिएका छन् । उपचार गुणस्तरीय र सस्तो भएकाले आँखा उपचारका लागि नेपालमा भारतीय सेवाग्राहीको आर्कषण बढेको नेत्र अधिकृत धामीको भनाई छ । ‘यहाँ आँखाको उपचार सेवा, सस्तो र गुणस्तरीय छ, देशी तथा विदेशी सेवाग्राहीमा कुनै किसिमको विभेद छैन् ।’ नेत्र अधिकृत धामीले भने ‘अपरेसन सेवा पनि एकै दिनमा गर्न सकियो भने भारतीय बिरामीको संख्या अझ वृद्धी हुने देखिन्छ ।’ महेन्द्रनगर आँखा अस्पतालले दोधरा चाँदनी र बेलौरी नगरपालिमा आँखा उपचार केन्द्र स्थापना गरि सेवा दिदैँ आएको छ । गेटा आँखा अस्पताल माहत रहनेगरि स्थापना भएको यो अस्पताल गत मंसिरबाट नेत्र ज्योती संघ कञ्चनपुरले व्यवस्थापनसहित सञ्चालनको जिम्मेवारी पाएको छ ।

त्यस्तै गत आर्थिक वर्षमा छ वटा विद्यालयमा आँखा जाँच शिविर सञ्चालन गरि एक हजार नौ सय जना विद्यार्थीलाई सेवा दिईएको अस्पताले जनाएको छ । त्यस्तै आखाँ उपचार क्याम्पमार्फत तीन हजार नौ सय जनालाई सेवा दिईएको छ ।

वार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न
महेन्द्रनगर आँखा अस्पतालले शनिबार वार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठी समेत सम्पन्न गरेको छ । कार्यक्रममा गत आर्थिक वर्षमा गरिएको प्रगति विवरणबारे समिक्षा गरिएको छ भने चालु आर्थिक वर्षका योजनाबारे छलफल गरिएको छ ।नेत्र ज्योती संघ कञ्चनपुरका अध्यक्ष डा. भोजराज पन्तले महेन्द्रनगर आँखा अस्पतालले स्वयत्तता पाए पनि गेटा अस्पतालसँग निरन्तर सहयोग र कार्य भईरहेको बताए । उनले आँखाको उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यतालाई तोड्दैँ गुणस्तरीय सेवा विस्तार गर्ने संघको लक्ष्य रहेको बताए । समिक्षा गोष्ठीमा बोल्दैँ अध्यक्ष पन्तले संघले व्यवस्थापकीय पक्षमा ध्यान दिएपनि सेवा प्रवाहमा कर्मचारीको भुमिका महत्वपुर्ण रहेको औल्याए ।
साथै अस्पतालको सेवा विस्तारका लागि प्रदेश र स्थानीय सरकारसँगै अन्य दातृ निकायसँग सहयोगका लागि आग्रह गरिएको उनको भनाई छ । त्यस्तै संघका कोषाध्यक्ष दयाकृष्ण जोशीले संघले आर्थिक पारदर्शितासहित अस्पतालको विकासका लागि आफुहरु प्रतिवद्ध रहेको बताए ।नेत्र ज्योती संघ सुदूरपश्चिमको सचिव गणेशराज बोहराले पनि अस्पतालको सेवालाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । गोष्ठीमा अस्पतालको सेवा विस्तारका लागि आँखा विशेषज्ञसहित आवश्यक जनशक्ती थप गर्ने, आँखा जाँच तथा उपचार शिविर सञ्चालन गर्नेलगायतका विषयमा छलफल गरिएको थियो ।
