महेन्द्रनगर : कञ्चनपुरको लालझाँडी गाउँपालिका —२ स्थित भानु माध्यमीक विद्यालयमा कक्षा १० मा अध्ययनरत आस्मी रानाको अल्प दृष्टि छ । कक्षा कोठामा उहाँले अगाडी बोर्डमा लेखिएका अक्षर स्पष्ट रुपमा देख्न सक्नुहुन्न । उहाँको उक्त समस्याको पहिचान गर्न सकिएको थिएन । जब गाउँपालिकाले विद्यालयलाई नमुना विद्यालयको रुपमा छनौट गरेर समावेशी शिक्षण विधि अपनायो त्यसपछि आस्मी जस्तै अन्य फरक क्षमता भएका विद्यार्थीहरुको पहिचान भयो । “विद्यालयमा हरेक दिन राउन्ड अनुसार सिट प्यानिङ हुने भएकाले विद्यार्थीले कहिले अगाडी कहिले पछाडी बस्नुपर्छ ।” भानु माध्यमीक विद्यालयका प्रधानाध्यापक वेद प्रसाद उपाध्यायले भन्नुभयो—“आखा कम देख्ने र कम सुन्ने जस्ता समस्या भएका विद्यार्थीहरुलाई समस्या हुदो रहेछ यो कुरा न हामीले पहिचान गर्न सक्यौ न विद्यार्थीले नै हामीलाई समस्या बारे बताए ।” उहाँले विद्यालयलाई नमुना विद्यालय छनौट गरेर समावेशी र शिक्षण विधि अपनाएपछि कम देख्ने र कम सुन्ने विद्यार्थीहरुको पहिचान भएको बताउनुभयो ।

“अहिले कम देख्ने र सुन्ने तथा अपाङ्गता भएका बालबालिकालाई पनि सोहि कक्षा कोठामा व्यवस्थापन गरेर शिक्षण गर्ने गरेका छौ ।” उहाँले भन्नुभयो—“यसले सबै विद्यार्थीहरुको शिक्षामा सहज पुहुँच पुगेको छ विद्याथीको पढाईमा समेत सुधार देखिएको छ ।” उहाँले अहिले विद्यालयले गुणस्तरी शिक्षामा जोड दिएको बताउनुभयो । त्यसैगरि बेलडाँडी गाउँपालिका —४ स्थित सरस्वती जनता माध्यमीक विद्यालयका प्रधानाध्यापक दिपेन्द्र बुढाले पालिकाले नमुना विद्यालय छनौट गरेपछि वडामा आएको बजेटको ५० प्रतिशत बजेट विद्यालयको विकासका लागि आउने गरेको जानकारी दिनुभयो । “हामीले विदाको समयमा अतिरिक्त कक्षा सञ्चालन गर्ने र त्रैमासिक रुपमा अभिभावक संग अन्तक्रिया गर्ने गरेका छौ ।” उहाँले भन्नुभयो—“शिक्षामा गुणस्तर वृद्धि गर्नका लागि वडाको पचास प्रतिशत बजेट आउँछ ।” उहाँले अहिले विद्यालयमा २४ जना अपाङ्गता भएका विद्यार्थीहरु समेत भर्ना भएर अध्ययन गरिरहेको बताउनुभयो । “ अपाङ्गता भएका विद्यार्थीहरुलाई पनि राखेर एउटै कक्षा कोठामा समावेशी ढंगबाट अध्यापन गराउदै आएका छौ ।” उहाँले भन्नुभयो—“पर्याप्त जनशक्ति र प्रविधिमैत्री कक्षा कोठा नहुदा केहि कठिनाइ भएको छ ।” लालझाँडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले नेपाल राष्ट्रिय समाज कल्याण संघ संगको सहकार्यमा पालिकाले तीन वटा नमुना विद्यालय छनौट गरेर शिक्षामा गुणस्तर सुधार र समावेशी शिक्षामा जोड दिएको बताउनुभयो ।

“संस्थाको प्राविधिक सहयोगमा अपाङ्गता भएका विद्यार्थीहरुलाई पनि शिक्षाको पहुचमा ल्याएका छौ ।” उहाँले भन्नुभयो—“गुणस्तरी शिक्षाका लागि नमुना विद्यालय छनौट गरेरै त्यसको विकासमा लागेका छौ ।” उहाँले बालबालिकालाई शिक्षाको अधिकारबाट वञ्जित हुन नदिन विद्यालयलाई समावेशी बनाएर एउटै कक्षा कोठामा फरक क्षमता भएका विद्यार्थीहरुलाई समेत अध्ययन गर्ने व्यवस्था गरेका छौ ।” उहाँले प्रविधिमैत्री शिक्षण सिकाइका लागि विद्यालयलाई तीन वटा स्मार्ट बोर्ड समेत उपलब्ध गराएको बताउनुभयो । सेभ द चिल्ड्रेन संगको साझेदारीमा नेपाल राष्ट्रिय समाज कल्याण संघले समावेशी तथा गुणस्तरी शिक्षा परियोजना अन्तर्गत यहाँका दुई वटा पालिकाका ६ वटा सामुदायिक विद्यालयलाई नमुना विद्यालयको रुपमा विकास गर्न लागिएको हो । बेलडाँडी गाउँपालिका स्थित सरस्वती जनता माध्यमीक विद्यालय, रौलेश्वर माध्यमीक विद्यालय र सरस्वती माध्यमीक विद्यालयलाई नमुना विद्यालयको रुपमा विकास गरिन लागेको हो । त्यसैगरी लालझाँडी गाउँपालिले भानु माध्यमीक विद्यालय,जनचेतना माध्यमीक विद्यालय र सरस्वती माध्यमीक विद्यालयलाई नमुना विद्यालयको रुपमा अघि बढाएको छ ।

छनौट भएका नमुना विद्यालयहरुमा प्रत्येक वालवालिकाहरुको कार्यगत सिमितता पहिचान गरि सोहि अनुरुप कक्षाकोठा भित्रको वातावरण अनुकुल शिक्षण विधिलाई प्रोत्साहन गरिएको परियोजनाका प्रबन्धक विशन देव जोशीले बताउनुभयो । उहाँले गुणस्तरीय शिक्षामा समावेशी पहुँचलाई प्रोत्साहन गर्ने उदेश्यले सुदूरपश्चिम र कर्णाली प्रदेशका ६ वटा पालिकामा समावेशी तथा गुणस्तरिय शिक्षा परियोजना अन्तरगत नमुना विद्यालय छनौट गरिएको बताउनुभयो । “एक पालिका तीन नमुना विद्यालय छनौट गर्नुका साथै शिक्षक तथा अभिभावक तालिम, अपांगता पहिचान परीक्षण, र अपांगता भएका बालबालिकाका लागि सहायक उपकरणहरूको व्यवस्था, छात्रवृति कोष र शैक्षिक सामाग्रि उपलब्ध गराएका छौ ।” जोशीले भन्नुभयो—“ यसले कक्षा कोठामा फरक क्षमता भएका विद्यार्थीको पहिचान गरेर सोहि अनुसारको पठनपाठन गर्न पे्ररित गरेको छ ।” अपाङ्गता भएका बालबालिकाहरुलाई अलग्गै विद्यालयमा भर्ना गर्नु भन्दा विद्यालयलाई समावेशी बनाउन लागिएको बताउदै यसले अपाङ्गता भएका विद्यार्थीको मनोबल बढ्ने उहाँले बताउनुभयो ।
