झलारी : शुक्लाफाँटा नगरपालिका–४ स्थीत पिपलाडी स्वास्थ्य चौकीमा बुधवार डेंगु सार्ने लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने तथा स्थानिय तह संगको पैरवी कार्यक्रम आयोजना गरियो । नगरपालिका संगको समन्वयमा स्वास्थ्य कार्यालय कञ्चनपुले सचेतनामूलक कार्यक्रम आयोजना गरेको हो । वर्षातको मौसमसँगै डेंगु जस्ता सरुवा रोगहरूको जोखिम बढ्दै गएकाले सचेतमूलक कार्यक्रमलाई अगाडी बढाईएको स्वास्थ्य कार्यालय कञ्चनपुरका औलो निरीक्षक सिद्धराज भट्टले बताउनु भयो ।

कार्यक्रमको सहजीकरण गर्नु हुदै उहाँले डेंगु रोग, यसको लक्षण, लामखुट्टेको जीवनचक्र र नियन्त्रणका उपायबारे जानकारी दिनुभयो । उहाँका अनुसार डेंगु एडिस एजिप्टाइ जातको लामखुट्टेले सार्ने रोग हो, जुन प्रायः बिहान र दिउँसो टोक्ने गर्छ ।
यसको जीवनचक्रमा अण्डा, लार्भा, प्युपा र वयस्क चरण पर्दछ । लार्भा पानीमा विकसित हुने भएकाले पानी जम्ने भाँडाकुडा मुख्य स्रोत रहेको उहाँले उल्लेख गर्नु भयो । उहाँका अनुसार डेंगुका सामान्य लक्षणमा उच्च ज्वरो, टाउको दुखाइ, आँखाको पछाडि दुखाइ, मांसपेशी र हड्डी दुख्ने, रास आउनु आदि पर्दछन् ।

डेंगुबाट बच्नका लागि घर वरपर पानी जम्न नदिने,फूलदानी, बाल्टिन, टायर, ड्रम आदिमा जम्मा भएको पानी सप्ताहमा एकपटक फेर्ने वा सफा गर्ने,लामखुट्टे टोक्न नदिने गरी जाली वा मच्छरदानी प्रयोग गर्ने, लामखुट्टेले टोक्ने समय (बिहान र दिउँसो) विशेष सतर्कता अपनाउने,लक्षण देखिए स्वास्थ्य केन्द्रमा तुरुन्त सम्पर्क गर्ने उहाँले जानकारी दिनु भयो ।
कार्यक्रममा सहभागीहरुलाई विभिन्न ठाउँमा गएर लामखुट्टे लार्भा पहिचान गर्ने तरिका सिकाउनुका साथै सहभागीहरूले गाउँघरका पानी जम्मा हुने ठाउँहरूमा सर्भे गरी सचेतना फैलाउने प्रतिबद्धता जनाएका छन । सरोकारवालाहरूले विद्यालय, महिला समूह, आमा समूह तथा युवाहरूलाई समेत समेटेर “हप्तामा एकपल्ट – एक घण्टा, लामखुट्टेको खोज र नष्ट“ अभियानलाई व्यवहारमा उतार्नुपर्ने धारणा राख्नु भयो ।

कार्यक्रमका प्रमुख अतिथि तथा शुक्लाफाँटा नगरपालिकाका प्रमुख रण बहादुर महराले स्थानीय तह, स्वास्थ्यकर्मी, समुदाय तथा विद्यालयस्तरमा डेंगुबारे व्यापक चेतना फैलाउनु आजको आवश्यकता भएको बताउँदै भन्नुभयो, “डेंगु नियन्त्रणको सुरुवात घरआँगन सफा राख्ने र पानी जम्ने ठाउँ हटाउनेबाट हुन्छ, सबै मिलेर काम गर्नुपर्छ ।” कार्यक्रममा नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख परमानन्द भट्ट र पिपलाडी स्वास्थ्य शाखाका प्रमुख दुर्गादत्त भट्टले मानव निर्मित कन्टेनरहरू—जस्तै बाल्टिन, फूलदानी, टायर, ट्यांकी, ड्रम—मा लामखुट्टे लार्भा हुने सम्भावना उच्च हुने भएकाले ती स्थानहरू नियमित सफा गर्न आग्रह गर्नुभयो । कार्यक्रममा वडाका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी, स्थानिय भद्रभलादमी लगायतको सहभागीता रहेको थियो ।
