दोधारा । असार तेस्रो साता जोगबूढा नदीमा आएको बाढीले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–३ पटराखल्लाकी सपना सुनार विस्थापित बनिन् । बाढीले घर भताभुङ्ग बनायो । भित्रको अन्नपात, लत्ताकपडा सबै बगायो । त्यसपछि सुनारको बास स्थानीय जमुना आधारभुत विद्यालय बनेको छ् । बाढीले विस्थापित बनेको तीन साता बित्नै लाग्दा पनि उनी अहिले पनि बस्तीमा फर्किन सकेकी छैनन् । ‘जोगबूढा नदी बस्ती पस्दा मुस्किलले ज्यान जोगायौं । घर बस्नै नमिल्ने बनेको छ् । होचो भूभाग हुदा अझै पानी जमेकै छ् । बल्ल बल्ल ज्यान जोगाए पनि घर भित्रको अन्नपात, लुगाफाटो सबै बाढीले बगायो,’ सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री राजेन्द्र सिंह रावल समक्ष गुनासो गर्दै भनिन् । नेकपा एमालेका संसदीय दलका नेता समेत रहेका रावल नेतृतवको टोलीले बाढीले क्षति पुर्याएका दोधारा चाँदनी नगरपालिकाका तीन ठाँउको स्थलगत निरीक्षण गरेका छन् । सुदूरपश्चिमका पूर्व आन्तरिक मामिला तथा कानून मन्त्री हिरा सार्की, दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर लिम्बू सहित जनप्रतिनिधिको टोली बाढी ग्रस्त क्षेत्रको निरीक्षण गर्दै पीडितको गुनासो सुनेका छन् ।
बाढी र डुबानले विस्थापित कतिपय नागरिक घर फिर्ती भईसकेपनि पटराखल्लाका २७ परिवारको बास विद्यालय बनेको छ् । जमुना आधारभुत विद्यालयको कोठामा बाढी विस्थापितले रात बिताइरहेका छन् । जमुना आधारभुत विद्यालयमा पटराखल्लाका वृद्धवृद्धा, गर्भवती, सुत्केरी तथा बालबालिका सहित एक सय ५ जना बाढी पीडितले आश्रय लिएर बसेको दोधारा चाँदनी–३ अध्यक्ष हरिसिंह धनाडीले बताए । विद्यालयमा पठनपाठन सुरु भइसकेकाले आश्रय लिएर बस्न समस्या भएको स्थानीय मंगल सुनारले बताए । ‘सुरक्षित आवासको व्यवस्था गरिदिनु पर्यो । अहिले विद्यालयमा बसिरहेका छौं । हल्का वर्षा हुदा पनि बस्ती डुबानमा पर्छ,’ उनले भने, ‘जोगबूढा नदीमा पक्की तटबन्ध निर्माण गरेर बाढी र डुबानको दीर्घकालीन समाधान गरिनुपर्छ ।’
दोधारा चाँदनी नगरपालिका नगर प्रमुख किशोर लिम्बुका अनुसार पटरा खल्लाका बाढी विस्थापितको अस्थायी बसोबासको व्यवस्थापन गरिदैछ् । बर्षात् नसकिञ्जेल सम्म बस्ती नजिकै उच्च भूभागमा त्रिपाल टाँगेर बस्ने प्रबन्ध मिलाइने उनले बताए । पटराखल्ला बस्तीका स्थानीयले झेल्दै आएको बाढी र डुबानको समस्या समाधानका लागि जोगबूढामा पक्की तटबन्ध निर्माणको लागि पहल गर्ने पूर्व मुख्यमन्त्री रावलले बताए । बाढी विस्थापितको गुनासो सुनेपछि रावलले विपद् व्यवस्थापन प्राधिकरणका सीइओ अनिल पोखरेल संग टेलिफोन सम्पर्क गरेर पक्की तटबन्ध निर्माणका लागि आग्रह गरेका छन् । ‘पक्की तटबन्ध निर्माणका लागि उहाँ सकरात्मक हुनुहुन्छ् । बाढी र डुबानको समस्या समाधानका लागि हामी सम्बन्धित निकायलाई घचघचाउछौं,’ रावलले भने, ‘पीडामा तपाईहरुको साथमा छौं।
राहतको लागि पहल गर्छौ ।’ दोधारा चाँदनी–१० को अठार नम्वर पिल्लर बस्ती जोगबूढा नदीको उच्च जोखिममा छ् । तीव्र कटान गरिरहेको जोगबूढा नदीले यहाँका ७ परिवार विस्थापितको जोखिममा छन् । बिना बर्दिका सैनिकझैं सीमामा नेपाली भूमि जोगाइरहेका जोगबूढा पारीको १८ नम्बर बस्ती जोड्ने झोलुङ्गे पुलसम्म बाढी आएको थियो । जोगबूढा नदीको कटान रोक्न नगरपालिकाले अहिले अस्थायी तटबन्ध निर्माण गरिरहेको छ् ।
जोगबूढामा पक्की तटबन्ध निर्माण नहुँदा दोधारा चाँदनी नगरपालिका–८ को सुन्दरनगर बस्तीमा नदी पसेपछि स्थानीय प्रभावित बनेका थिए । खेतमा माटो भरिएर बगरमा परिणत भएको छ् ।