दोदा नदीमा मर्सिकोरको सहयोगमा बाढी पूर्व सूचना यन्त्र जडान


राजेन्द्रप्रसाद पनेरु/ कञ्चनपुर : कञ्चनपुरको दोदा(मछेली) नदीमा मर्सिकोरको सहयोगमा बाढी पूर्व सूचना यन्त्र (राडार लेभल सेन्सर) जडान गरिएको छ । जल तथा मौसम विज्ञान विभाग अन्र्तगतको महाकाली बेसिन फिल्ड कार्यालय अत्तरीया कैलालीको प्राविधिक सहयोग र निड्स नेपाल द्वारा सञ्चालित एम–रेड परियोजना अन्तर्गत यन्त्र जडान गरिएको हो ।
जडान गरिएको यन्त्रले स्वचालित रुपमा नदीको पानीको सतह बढे घटेको जानकारी दिने फिल्ड कार्यालय अत्तरियाका प्रमुख सञ्जय शाहले बताउनु भयो । “वर्षेनी बाढीबाट हुने धनजनको क्षति कम गर्नका लागि पूर्व सूचना प्रणाीलाई व्यवस्थीत गर्ने शुरुवात गरेका छौं” उहाँले भन्नु भयो, “अन्य बाढीबाट प्रभावित हुने क्षेत्रमा पूर्व सूचना यन्त्र थप्दै लैजान्छौं ।” जडान गरिएको यन्त्रले १०/१० सेकेण्डमा नदीको सतह घटे बढेको बारे जानकारी दिने उहाँले बताउनु भयो ।

उहाँका अनुसार यन्त्रले दिने सूचना तथा मौसम विभागको वेवसाईट मार्फत अपडेट भैरहन्छ । सबैले सजिलै वेवसाइट हेरेर पनि बाढी बारे जानकारी पाउने उहाँको भनाई छ । नदीको बाढी सतर्कता, चेतावनी, खतरा तहमा पुगेपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई बाढी बारे निरन्तर रुपमा जानकारी दिन सजिलो हुने उहाँले बताउनु भयो । समुहगत रुपमा एसएमएस गरेर पनि बाढी बारे प्रभावित क्षेत्रका बासिन्दालाई जानकारी दिन सकिने उहाँले उल्लेख गर्नु भयो । बाढीबाट हुने धनजनको क्षति कम गर्नका लागि यन्त्रले सहयोग पुरयाउने उहाँको भनाई रहेको छ । यन्त्र जडानले आपतकालीन सञ्चालन केन्द्र राखिएको डिस्प्लेमा बाढी बारेको जानकारी अपडेट भैरहने हुनाले पूर्व सूचना प्रणाली बलियो हुने निड्स कञ्चनपुरका विपद् सम्बन्धी कार्यक्रम संयोजक नविन भट्टले बताउनु भयो । “यस कार्यले नदीको तल्लो तटीय क्षेत्र लालझाडी, पूर्नवास, बेलौरी लगायतका पाँच हजार परिवारको बाढीबाट शुरक्षा हुन्छ” उहाँले भन्नु भयो, “बाढी प्रभावित क्षेत्रका बासिन्दाले बाढी आउन पूर्वनै सूचना पाउने भएकाले सुरक्षित स्थानमा जान सक्ने हुदा धनजन जोगाउन मद्दत पुग्छ ।” डुवान हुने क्षेत्रका बासिन्दा पनि जोगिने उहाँले जानकारी दिनु भयो । दोदा जलाधार क्षेत्रका पालिका संग सहकार्य गरी बढी पूर्व सूचना बारे निड्सले कार्य गरिहेको उहाँले बताउनु भयो ।

“दोदा नदीमा आउने बाढीले वर्षेनी तल्लो तटीय क्षेत्रका बासिन्दालाई पूर्व सूचना नहुदा धनजनको क्षति हुदै आएको थियो” कृष्णपुर नगरपालिका वडा नं २ का वडा अध्यक्ष अर्जुन साउदले भन्नु भयो, “बाढी पूर्व सूचना यन्त्र जडान भएपछि बाढीबाट धनजन जोगाउन सकिन्छ ।” उहाँका अनुसार सर्भेको कार्य पश्चात पूर्व पश्चिम राजमार्गको दोदा नदीको पुलको मध्य भागमा यन्त्र जडानको कार्य गरिएको छ । पूर्नवास विपद् व्यवस्थापन शाखका प्रमुख ओम नाथ ढकालले माथिल्लो तटीय क्षेत्रबाट नदीको बाढी नगरपालिका क्षेत्रमा पुग्न तीन चार घण्टा लाग्ने उल्लेख गर्नु हुदै यन्त्र जडानको कार्यले बाढी पुग्न पूर्वनै सतर्कता अपनाएर धनजनको क्षति कम गर्न सकिने बताउनु भयो ।


ताजा समाचार

spot_img