
दोधारा । दोधारा चाँदनीको बडुवाल टोलमा मानिसमा आक्रमण गर्दै आएको साँढे गोरु नियन्त्रणमा ल्याईएको छ् । दोधारा चाँदनी नगरपालिका– ३ बडुवाल टोलमा बिगत एक महिना देखि मानिस माथी आक्रमण गर्ने साँढे गोरुलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कर्मचारी, दोधारा चाँदनी नगरपालिका कार्यालय पशु सेवा, सशस्त्र प्रहरी तथा स्थानियहरुले नियन्त्रणमा ल्याएका हुन् । उक्त साँढे गोरुले ३ दिन अघि अन्ताजी वर्ष ५५ का हस्त बहादुर क्षेत्रीलाई आक्रमण गरि मरणासन्न हुने गरि घाईते बनाएको हो । उनको उपचार सिमावर्ती भारतिय शहरको खटिमाको एक निजी अस्पतालमा भईरहेको छ् ।


गोरुको आक्रमणमा परि क्षेत्रीको पेट, टाउको र खुट्टामा गम्भिर चोट आएको दोधारा चाँदनी नगरपालिका–३ का वडाध्यक्ष हरिसिंह धनाडीले बताएका छन् । केही महिना अघि पनि उक्त साँढे गोरुले बडुवाल टोलको नेपाल–भारत सिमा क्षेत्रमा रहेको सिमलघाट एसएसबी पोष्टका एक जवानको ज्यान गएको बताईएको छ् । गोरुले स्थानियमा आतंक मच्चाउन थाले संगै वडाध्यक्ष धनाडीले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालय, पशु सेवा कार्यालयलाई खबर गरेका थिए ।

आज बिहान गोरुलाई बेहोसको ईन्जेक्सनलाई लगाएर घाईते बनाए संगै साँढे गोरुलाई बन्ध्याकरण तथा सिंङ्ग काट्ने तथा गोरुको नाकमा लगाम लगाईएको हो ।







