कञ्चनपुर : आईतबारदेखि कञ्चनपुर महेन्द्रनगर खुला मञ्चमा मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता शुरु भएको छ । सुदूरपश्चिम खेलकुद परिषद्को आयोजना एव कञ्चनपुर जिल्ला भलिबल संघको व्यवस्थापनमा मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता शुरु भएको हो । पहिलो दिन ८ टिमविच प्रतिस्पर्धा भएको छ । पहिलो दिन तीनै विभागिय टिमको विजयी शुरुवात भएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका टीमको विजयी शुरुवात भएको हो । नेपाली सेनाको त्रिभुवन आर्मीको क्बलले बागमती प्रदेशलाई ३–०, नेपाल प्रहरीले लुम्बिनी प्रदेशलाई ३–० र सशस्त्र प्रहरीले मधेश प्रदेशलाई ३–०सेटले हराउँदै विजय यात्रा शुरुवात गरेका हुन । कर्णाली प्रदेश र आयोजक सुदूरपश्चिम प्रदेशको टिमविच प्रतिस्पर्धा भएको थियो । दुवै टिमले १–१सेट जितेपछि प्रतियोगिता स्थगित गरिएको छ । सुदूरपश्चिम खेलकुद परिषद्का सदस्य सचिव दिपक सिहले क्षेत्रको खेलकुद विकासका लासिग प्रतियोगिता आयोजना गरिएको बताए ।


खेलकुद परिषदका सदस्य सचिव सिहले यस अघि दुई पटक धनगढीमा सम्पन्न भएको मुख्यमन्त्री भलिबल प्रतियोगिताको सफलतापछि तेस्रो पटक कञ्चनपुरमा गर्न लागेको बताए । उनका अनुसार प्रतियोगितामा सातै प्रदेश सहित तीन विभागिय गरेर १० टिमको सहभागिता हुनेछ । सातै प्रदेशका सात र सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेनाका टिमविच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता विजेता टिमलाई नगद ४ लाख, उप विजेतालाई दुई लाख र तेस्रो हुने टिमलाई एक लाख नगद सहित ट्रफि, मेडलका साथै प्रमाण पत्र प्रदान गरिनेछ । चौथो हुने टिमलाई सान्त्वना स्वरुप ५० हजार नगद पुरस्कार समेत प्रदान गरिनेछ । सेमिफाईनल खेलमा पाँच हजारका दरले म्यान अफ म्याचको पुरस्कार, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई २० हजार, विभिन्न उत्कृष्ट ६ विद्याका खेलाडीलाई जनही १०/१० हजारका दरले पुरस्कार प्रदान गरिने छ । सदस्य सचिव सिहले प्रतियोगितामा झण्डै ८० लाख रुपैया विनियोजन गरेको बताए । उनले खेलाडी, प्रशिक्षक एव स्वयमसेवकका लागि आयोजकले बस्नेखाने प्रबन्ध मिलाएको बताए । कञ्चनपुर जिल्ला भलिबल संघका अध्यक्ष श्याम सिह मौनीले उद्घाटनका दिन सबैलाई निःशुल्क प्रवेस गराईएको बताए । अध्यक्ष मौनीका अनुसार भलिबल अवलोकनका लागि विद्यार्थी तर्फ २० र साधारण तर्फ ५० रुपैया शुल्क निर्धारण गरिएको छ ।


युनिफर्ममा आउने विद्यार्थी, जेष्ठ नागरिकलाई निःशुल्क प्रवेस गर्न दिईनेछ । भलिबलका बरिष्ठ प्रशिक्षक जगदिश भट्टले क्षेत्रको बृद्धि विकासका लागि संचालित भएको बताए । प्रतियोगिताबाट संकलन हुने रकम कोष निर्माण गरेर सुदूरबाटै भलिबलकी राष्ट्रिय खेलाडी पल्सरपिपुल्समा छनौट भएकी निरुता ठगुन्ना र अर्का खेलाडीलाई सहयोग गरिनेछ । कञ्चनपुर जिल्ला भलिबल संघका सचिव उत्तम विष्टले सोमबार बिहान ८ बजेदेखि थप प्रतियोगिता संचालन हुने बताए । उद्घाटन कार्यक्रममा नेपाल भलिबल संघका केन्द्रीय उपाध्यक्ष हरक सिह धामीले भलिबल प्रतियोगिताले क्षेत्रकोे बृद्धि विकासमा टेवा पुग्ने बताए । २० माघसम्म संचालन हुने प्रतियोगिताको हजारौँ दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ । धेरै बर्षपछि महेन्द्रनगरमा राष्ट्रियस्तरको प्रतियोगिता हुने भएपछि भलिबलका खेलाडीदेखि खेलकुदप्रेमी उत्साहित भएका छन । सशस्त्र प्रहरी बलको टिमबाट भलिबल खेल्दै आएका कञ्चनपुरका स्थानीय समेत रहेका राष्ट्रिय भलिबल खेलाडी लोकेन्द्र राज गिरीले प्रतियोगिताले खेलाडीको कला प्रर्दशनका लागि अवसर पाएको बताए । उद्घाटनका दिन हजारौँ दर्शकहरुले प्रतियोगिता अवलोकन गरेका छन ।







