कञ्चनपुर : कञ्चनपुरको भीमदत्तनगर गोबरैयामा स्थापना भएको स्कुल अफ को–अपरेटिभको आयोजनामा जिल्ला स्थित सरोकारवाला सहकारीका प्रमुख कार्यकारी अधिकृत एवं व्यवस्थापकहरु संग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
स्कुलका अध्यक्ष प्रेम सिंह भाटले कार्यपत्र प्रस्तुत गर्दै राष्ट्रिय अर्थतन्त्रलाई सुदृढता एवं सक्षमताका निमत्त योगदान पुर्याउन श्री निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्था लि.ले गैर नाफामुलक स्कुल अफ को–अपरेटिभ स्थापना गर्न वाञ्छनीय भएकोले भीमदत्त नगरपालिका नगर शिक्षा समितिको निर्णय अनुसार राष्ट्रिय सहकारी दिवस मिति २०७८ चैत्र २० गतेका दिन अनुमति प्राप्त भई संचालनको तयारीमा रहेको कुरा वताउनु भयो ।

सहकारी, सहकारीका सदस्यहरुको व्यवसाय , उद्यमी व्यवसायीको क्षमता अभिवृद्धि तथा उद्यमशिलता विकसित गर्न आवश्यक अनौपचारिक विद्यालय बाहिरको शिक्षा एवं प्राविधिक शिक्षा अध्ययन अध्यापन लगायतका कार्यहरु स्कुल अफ को–अपरेटिभले गर्ने र तालिमका बिषय तथा समय सहितको बार्षिक क्यालेण्डर निकालिने कुरा अध्यक्ष भाटले बताउनु भयो । अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय सहकारी बैंक महेन्द्रनगरका प्रबन्धक नबिन क्षेत्री, उदयदेव बहुउद्देश्यीय सहकारी संस्थाका कार्यकारी अधिकृत तथा सुदूरपश्चिम बिशिष्टकृत उपभोक्ता सहकारी संघका अध्यक्ष गणेश बहादुर चन्द, भीमदत्तनगर सहकारी संघका सचिव तथा युवा बचत तथा ऋण सहकारीका कार्यकारी प्रमुख मोहन बहादुर चन्द तथा शिखर बहुउद्देश्यी सहकारी संस्थाका प्रबन्धक दामोदर सिंह धामीले सुझाव सहित मन्तव्य राखेका थिए ।

निङ्गलाशैनी बहुउद्देश्यी सहकारी भवनमा संचालन हुने स्कुल अफ को–अपरेटिभले कञ्चनपुर जिल्लाका सम्पूर्ण सहकारी संघ संस्थाका अध्यक्ष, पदाधिकारी, उप समिति, कर्मचारी र शेयर सदस्यहरु लाई सहकारी शिक्षा, वित्तिय साक्षरता, व्यवस्थापकिय पक्ष, सीपमुलक तथा ज्ञानमुलक तालिम निःशुल्क तथा सःशुल्क रुपमा संचालन गर्ने गरि तयारी गरि रहेको कुरा निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्थाकी प्रबन्धक बविता चन्द बमले बताउनु भएको छ । अन्तरक्रियामा सहभागि सहकारीका प्रबन्धकहरुले स्कुल अफ को–अपरेटिभलाई प्रभावकारी रुपमा संचालन र व्यवस्थापन कार्यमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहभागि भई सहकारीमा आवद्ध जनशक्तीको विकास र प्रवद्र्धनमा सहयोग गर्ने प्रतिवद्धता जाहेर गर्नु भएको थियो ।











