कञ्चनपुर : निर्माण व्यवसायी संघ कञ्चनपुरले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी मार्फत निर्माण व्यवसायी संघ कञ्चनपुरले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई ज्ञापन पत्र बुझाएका हुन् । निर्माण व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष निरन्जन प्रशाद भट्टले मंगलबार प्रजिअ मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको बताए ।
गत २१ असार मा नेपाल राजपत्रमा म्याद थप सम्बन्धमा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ७४ ख. बमोजिम बाधा अड्काउ फुकाउनका लागि जारी भएको आदेशले विद्यमान म्याद थप र भुक्तानी समस्या समाधान गर्न नसक्ने हुँदा निर्माण उद्योगको विकास विस्तारमा प्रतिकुल असर पारेको हुँदा निर्माण व्यवसायी मारमा परेका छन् ।

निर्माण कार्य सम्पन्न गरे पनि अरबौं रकम भुक्तानी नहुँदा मारमा परेका निर्माण व्यवसायीहरु उक्त आदेशका कारण थप मारमा परेको हुँदा म्याद थपको उक्त अमूर्त आदेश, भुक्तानी समस्या सहित निर्माण उद्योग सँग सम्बन्धित ऐन नियम लगायत अन्य समस्या र समाधानका लागि देशभर नै निमार्ण व्यवसायीहरु आन्दोलित बनेकाछन् । निर्माण व्यवसायीहरुका मागहरु यस्ता छनः
१. सबै निर्माण कार्यको भुक्तानी हुनुपर्ने ।
२. नेपाल सरकारबाट जारी म्याद थपको आदेशमा संशोधन गरि सम्पूर्ण आयोजनाहरुको एकमुष्ट रुपले म्याद थप गर्न पुनः आदेश जारी गर्नुपर्नेे ।
३. अत्याधिक र अप्रत्याशित रुपले भएको मूल्यवृद्धिलाई सम्बोधन हुने गरी मूल्य समायोजन गरिनुपर्ने ।
४. रुग्ण आयोजनाहरु अन्यौलग्रस्त र बजेट नभई काम हुन नसक्ने एवं काबु बाहिरका निर्माण कार्य सुविस्ताको आधारमा अन्त्य गर्नुपर्ने ।
५. चेक बाउन्स र बैक ग्यारेण्टी जफत गर्ने लगायतका कार्वाही रोकिनुपर्ने ।
६. बीमाको प्रिमियम दरमा भएको वृद्धिलाई खारेज गरिनु पर्ने ।
७. श्रोतमा कट्टा गरेको अग्रीम आयकर र मु.अ.करको बाँकी बक्यौता रकम समयमा नियोक्ताले राजस्व खातामा दाखिला गरिनु पर्ने ।
८. उपभोक्ता समितिबाट निर्माण कार्य गर्ने व्यवस्था खारेज गरिनु पर्ने ।
९. कानूनमा संशोधन गरिनु पर्ने ।

नेपाल निर्माण व्यवसायी महासंघले व्यवसायीहरुको समस्या समाधान गर्नका लागि सरकारलाई विभिन्न अल्टिमेटम दिदै आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ । देशभरका ७७ ओटै जिल्लाहरुमा निर्माण व्यवसायीहरुले उक्त कार्यक्रम अनुसार नै मंगलबार प्रमुख जिल्ला अधिकारी (सिडिओ) मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् । माग पुरा नगरे आन्दोलनको चेतवानी दिएका छन ।

