
पप्पु गुरुङ्ग, दोधारा । दोधारा चाँदनी नगरपालिकाका वादी घरपरिवार सामाजिक विकास तथा रोजगारमूलक व्यवसायमा संलग्न हुदै गईरहेका छन् । कुनै समय देहव्यापारमा संलग्न जाती भनि समाजद्वारा हेपिने सो समुदाय विभिन्न रोजगारमुलक कार्यमा लागि आत्मनिर्भर बन्दै गएको पाईएको छ । रोजगारमूलक गतिविधि र सामाजिक विकासमा संलग्नता बढ्दै गएपछि समाजले पनि उनीहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको छ् । दोधारा चाँदनी नगरपालिका– ३ बडुवाल टोलका रेशम बादीले आज भोली दोधारा चाँदनी नगरपालिका– ४ को चाँदनी बजारमा जुत्ता सिउने र छाला तथा फाइबरको जुत्ता उत्पादन ब्यवसाय गरेर राम्रै आम्दानी गरेका छन् । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को सुद्दढ परियोजनाले सघाएपछि रेशम बादीले जुत्ता सिउने र छाला तथा फाईबरको जुत्ता उत्पादन ब्यवसाय गर्न सफल भएको रेशम बादीले बताएका छन् ।

‘हिजो सम्म रोजगारीको कुनै विकल्प देखेका थिएनौं, विकास निमार्णको अनुभुति भएको थिएन त्यसर्थ गाँउ, बस्ती चहारेर माँगेर ल्याएको खाद्यान्नले छाक टार्न बाध्य थियौं, तर अहिले रोजगारीका विभिन्न अवसरहरु पाएका छौं ।’ गाँउ, बस्तीमा माँगी खाने नगरेरै पनि परिवार चलाउन सकिन्छ भन्ने सबैमा चेतनाको विकास भएकोले मागेर खान छाडेको रेशम बादीले भने । उनले नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को सुद्दढ परियोजनाका सम्पुर्ण टिमलाई धन्यबाद दिएका छन् । ‘हाम्रो परिवारको जिवनमा आमुल परिवर्तन गर्न सहयोग गरेकोमा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को सुद्दढ परियोजनालाई बिशेष धन्यबाद छ्’ रेशम बादीले भने ।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को सुद्दढ परियोजनाको सहयोगले रेशम बादीको घरपरिवारमा ठुलै परिवर्तन ल्याएको दोधारा चाँदनी नगरपालिका–२ का वडाध्यक्ष पदम सिंह रावलले बताएका छन् । ‘मागेर खाने रेशम बादीको घरपरिवारले अहिले आएर जुत्ता उत्पादन र सिउने काम गरि राम्रै आम्दानी गरेका छन्’ दोधारा चाँदनी नगरपालिका– २ का वडाध्यक्ष पदम रावलले भने । रेशम बादी र उनका धर्मपत्नीले बिहान सबेरै पसल खोल्ने र अबेर साँझ मात्र पसल बन्द गरेर घर जाने गरेको स्थानियहरु बताउछन् । रेशम बादीले जुत्ता सिउने र छाला तथा फाईबरको जुत्ता उत्पादन ब्यवसायमा झण्डै दैनिक रु. १२ देखि १५ सय बढी सम्मको ब्यापार गर्ने गरेको रेशम बादीको धर्मपत्नी सिता बादीले बताएका छन् ।

उनिहरुले २ वटा सहकारीमा दैनिक कमाएको पैसा जम्मा गर्ने गरेको सिता बादीले बताएका छन् । ‘दैनिक हामीले ५ देखि ७ सय रुपिया सम्म सहकारीमा बचत गर्दै आएका छौं’ सिता बादीले भने । अहिले आएर बल्ल आफ्नो जहान परिवार आत्मनिर्भर बन्न थालेको सिता बादीले बताए ।
दलित भित्रको पनि अति सिमान्तकृत वर्गको रुपमा रहेको वादी समुदायको संख्या कञ्चनपुर जिल्लामा ८ सय ३२ रहेको एक तथ्यांकमा छ् । तर आज उनीहरु परिवर्तनको बाटो आत्मसाथ गर्ने प्रयासरतमा छन् ।






