राजेन्द्रप्रसाद पनेरु/कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका ७ का हिक्मत चौधरी पेशाले किसान हुन । चौधरीले माछापालन संगै तरकारी खेतीलाई केही वर्ष अघि देखि निरन्तरता दिदै आउनु भएको छ । किसान भएको नाताले उनले आसन्न स्थानिय तहको निर्वाचनमा किसानको पिरमर्का बुझने उम्मेदवारलाई मतदान गर्ने सोच बनाएका छन । ‘किसानको हक हितका लागि सधैं लडने, लडदै आएका उम्मेदवारको खोजीमा छौं’ उनले भने, ‘विगतको पाँच वर्ष निराशाजनक वित्यो । किसानका लागि कसैले सोचेनन् । अबको चुनावमा विगतको गल्तीलाई दोहरयाउदैनौं ।’ आत्मै देखि सेवा गर्छु भन्ने भावना भएको व्यक्ति स्थानिय तहको उम्मेदवार बन्नु पर्छ ।

त्यस्ता उम्मेदवारलाई मात्रै सघाउने उनी बताउ छन । ‘नगर प्रमुख उप प्रमुख देखि वडा अध्यक्ष, सदस्य सम्म पढेलेखेकै व्यक्ति हुनु पर्छ । जसले सबै कुराको हेक्का राख्न सक्ने हुनु पर्छ’ उनले भने, ‘सबै क्षेत्रबारे बुझेकै हुनु पर्छ । सटिक योजना बनाई नगरको विकासमा दीगो विकास गर्न सकोस ।’ ‘आजको बढ्दो जनसङख्याकै आधारमा कृषि उपजको उत्पादन हुनु पर्छ । त्यसका लागि किसान एक्लैको प्रयासले संभव हुदैन । स्थानिय तहका जनप्रतिनिधिले त्यसका लागि आवश्यक योजना अघि सार्नु पर्छ’ अर्का किसान सोनु डगौराले भने, ‘किसानको आजको आवश्यकता भनेकै आधुनिक तरिकाले खेती गर्ने तौर तरिका सिकाउने तालिम, आवश्यक औजार र उपकरण संगै मल, बिषादीको समयमै उपलव्धता हुनु पर्छ । सिचाईको प्रयाप्ततामा समेत ध्यान दिनु पर्छ ।’ ‘त्यस पछि मात्रै बजार प्रवद्र्धनका कुरा आउछन’ उनी भन्छन, ‘कृषि क्षेत्रको विकासका लागि योगदान दिन सक्ने व्यक्तिनै चुनावमा रोजाईमा छ ।

यसका लागि सबै किसानलाई भन्दै पनि आएका छौं । विगतको गल्तीलाई नदोह¥याउ गएका पाँच वर्ष पछुतायौं । अव त्यसो नगरौं ।’ उज्यालो दिने मोमवत्तिले आफु सकिदा सम्म जसरी ज्योती छर्ने कार्य गर्छ । त्यसै गरी किसानका पिरमर्कालाई बुझेर कार्य अगाडी सार्ने जनप्रतिनिधि रोज्नु पर्ने उनी बताउ छन । ‘अज्ञानताका कारण विगतमा किसानलाई उम्मेदवारले मासुको चोक्टा, मदिरा र मोवाईल फोनको रिचार्जमै भुलायो’ जय सिंह बुढालले भने, ‘चुनावमा मत माग्नका लागि घर दैलोमा पुग्ने उम्मेदवारको घोषणा पत्र हेर्छौ । किसानका लागि के गर्ने कुरा उल्लेख छ । उम्मेदवारको किसानका लागि योगदान दिने क्षमता छ छैन त्यो पनि आंकलन गर्छौ । सबै कुराको हेरविचार गरेर मात्रै मतदान गर्छौ ।’ कुन पार्टीको उम्मेदवार भनेर पार्टीका पछि नलाग्ने उनले बताए । ‘जुन सुकै पार्टीको उम्मेदवार भएपनि किसानको हितमा काम गर्ने भए पुग्छ’ उनी भन्छन, ‘पहिला पार्टी पार्टी भनेर मतदान गर्दा चुनावमा जितेका उम्मेदवारले किसानका लागि केही गरेनन् । आफैले गरेका वाचा बिर्से । फर्केर हेरेनन् । पहिला भन्दा निकै सचेत भएका छौं ।’ उम्मेदवारको पारिवारीक पृष्ठभूमि हेरेर यस पटकको स्थानिय तहको निर्वाचनमा मतदान गर्ने सोच जयलाल धामीेको रहेको छ । ‘परिवारलाई कसरी चलाएको छ । योजनावद्ध रुपमा व्यवस्थीत छ छैन । त्यो पनि हेर्न आवश्यक छ’ उनले भने, ‘परिवार संगै समाजलाई उम्मेदवार हुनु अघि सम्म कसरी अगाडी बढाएको छ । त्यसकै आधारमा मतदान गर्न आवश्यक छ ।

परिवारनै राम्ररी चलाएको छैन । परिवारका सबै सदस्यलाई एकवद्ध बनाएर अगाडी बढेको छैन भने त्यस्ता उम्मेदवारले नगर र वडालाई हाँक्न सक्दैनन् ।’ यहाँका नगरपालिका र गाउँपालिकामा बस्ने मध्ये ६५ प्रतिशत बढी व्यक्ति किसान रहेका छन । किसानका लागि आवश्यक विउविजन, रसाईनिक मल, सिचाई, कृषि औजार उपकरणको व्यवस्थाका लागि सहजीकरण गर्ने उम्मेदवारलाईनै मतदान गर्नका लागि किसानका अगुवाहरुले सचेतना अभियान समेत थालेका छन । कृषिलाई निर्वाहमुखि भन्दा व्यवसायीक बनाई बाह्य क्षेत्रमा निर्यात गर्न सक्ने बनाउनका लागि योगदान दिन सक्ने उम्मेदवारको खोजी भैरहेको किसान अगुवाहरुको भनाई रहेको छ । स्थानिय तहको निर्वाचनमा उम्मेदवार हुनका लागि आकाँक्षा देखाएका मध्ये नगन्य मात्रामा मात्रै किसानका कुरा बुझेका उम्मेदवार रहेको किसानहरुको भनाई रहेको छ ।






