महेन्द्रनगर: बैतडीमा मिनी ट्रक दुर्घटना हुँदा सुर्नया गाउँपालिका–३ की २५ वर्षीया दुर्गा चन्दको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकी उनलाई अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ । आइतबार साँझ पाटनबाट सतबाँझतर्फ जाँदै गरेको से १ ख १२४२ नम्बरको मिनी ट्रक पाटन नगरपालिका–६ स्थित सडकमा आफै अनियन्त्रित भई पल्टिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् । सुर्नया गाउँपालिका–३ की ३५ वर्षीया माधवी चन्द, ३५ वर्षकै बसन्ती भट्ट, ३३ वर्षीया कलावती भट्ट, २८ वर्षीया विमला चन्द, ३३ वर्षीया पार्वती विष्ट र ५० वर्षीया तारा विष्ट घाइते भएका छन् । घाइते ६ जनामध्ये ४ जना पाटनमा उपचारपछि घर फर्किएका बताइएको छ । माधवी, विमला, पार्वती र तारा घर फर्किएका हुन् भने अन्य २ जनालाई थप उपचारका लागि जिल्ला अस्पताल डडेल्धुरा पठाइएको प्रहरीले बताएको छ । कलावती र बसन्तीलाई डडेल्धुरा पठाइएको हो। ट्रक चालक पाटन नगरपालिका–४ का वीरेन्द्र खत्री फरार रहेका र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।







