कञ्चनपुर : शुक्लाफाँटा नगरपालिकाका अति विपन्न दलित परिवारको आर्थिक अबस्थामा सुधार ल्याउनका लागि आज बाख्रा वितरण गरिएको छ । कोरोनाबाट रोजगारी गुमाएका दलित समुदायका अति विपन्न परिवारको छनौट गरी व्याएका र व्याउने अबस्थाका बाख्रा वितरण गरिएको हो । एक्ट एलायन्स, एलएफ नेपालको आर्थिक सहयोगमा राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपालको साझेदारीमा बाख्रा वितरण गरिएको राष्ट्रिय मुक्त हलिया समाज कञ्चनपुरका अध्यक्ष शिवी लुहारले बताए ।

‘बाख्रा वितरण गर्नु अघि विपन्न परिवारलाई बाख्रपालन बारे तालिम दिई बाख्रा वितरण गरेका छौ’ उनले भने,‘विपन्न परिवारलाई उपलव्ध गराएका बाख्रोका पाठो अर्को बाख्रा नपाएका विपन्न दलित परिवारलाई पैंचोका रुपमा दिनु पर्ने हुन्छ । यसकार्यले आयआर्जनमा दलित परिवारलाई निकै सघाउ पुग्ने छ ।’ विपन्न दलित एक परिवारलाई १४ हजार ५०० मूल्य बरावरका बाख्रा वितरण गरिएको छ । शुक्लाफाँटा र कृष्णपुरका गरी १६० विपन्न दलित परिवारलाई व्यवसायी बनाउन कार्यक्रम सञ्चालन गरिएको छ ।







