पुनर्वास: नेपाली सीमा रक्षार्थ भारतीय सीमा सुरक्षा बल (एसएसबी) को गोली लागि सहादत प्राप्त गरेका सहिद गोविन्द गौतमको पाँचौ स्मृति मनाएको छ । बिहिबार शालिक निर्माण स्थलमै पुगेर पुनर्वास नगरपालिकाका नगर प्रमुख जिवनराज थापा लगायतका जनप्रतिनिधिले शालिकमा माल्यार्पण गर्दै पाँचौ स्मृति मनाएको हो । शालिकमा माल्यार्पण पश्चात् सहिद गौतमका बुवालाई नगर प्रमुख थापाले नगद पाँच हजार र दोसल्ला सहित सम्मान गरेका थिए । स्मृति सभामा बोल्दै नगर प्रमुख थापाले भारतले नेपाली भुमि हस्तक्षेप गर्न खोज्दा भुमी रक्षाका लागि ज्यानै फाल्न तयार भएका सहिद गोविन्द गौतमलाई सधै भरी स्मरण गर्दै सम्मान गरिने बताए ।

देशको भुमी जोगाउन आफ्नै ज्यानको आहुती दिएका सहिद गौतमको सपना हामी सबै नेपालीले साकार पार्नुपर्ने उनको भनाई छ । नगरपालिकाकी कार्यपालिका सदस्य विष्णु सिग्देलको सभाध्यक्षमा सम्पन्न कार्यक्रममा विभिन्न पार्टीका प्रतिनिधि, सहिद परिवार र स्थानीयको उपस्थिति रहेको थियो । २०७३ फागुन २६ गते पुनर्वास नगरपालिका-४ कार्गिल डाडा सीमा नजिकै नालामा कल्वर्ट निर्माण गर्न खोज्दा विवाद चुलिएर सहिद गोविन्द गौतमले सहादत प्राप्त गरेका थिए । घटना घटेको पाँच वर्ष वितिसक्दा पनि सीमा समस्या समाधान गर्न सरकार अझै अनविज्ञ देखिएको छ ।







