महेन्द्रनगर : अन्तर्राष्ट्रिय क्रिकेट परिषदको ‘महिनाको उत्कृष्ट खेलाडी’ (प्लेअर अफ दि मन्थ) को मनोनयनमा नेपाली राष्ट्रिय क्रिकेट टिमका ब्याटिङ अलराउन्डर दीपेन्द्रसिंह ऐरी परेका छन् । परिषदले बुधवार सार्वजनिक गरेको फेब्रुअरी महिनाको उत्कृष्ट खेलाडीको मनोनयनमा दीपेन्द्र पर्न सफल भएका हुन् । मनोनयनमा उनीसँगै भारतका श्रेयस अयर र यूएईका वृत्य अरविन्द छन् ।

यी तीनजनामध्ये भोटिङका आधारमा एकजनालाई प्लेयर अफ दी मन्थ घोषणा गरिने परिषदले जनाएको छ । दिपेन्द्रले आईसीसी टी–ट्वान्टी विश्वकप, त्यसअघि भएको ओमान, यूएई र आयरल्यान्डसँगको त्रिदेशिय सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका थिए । विश्वकप छनोटमा उनले १ सय ५९ रन बनाउनुका साथै ६ विकेट लिएका थिए । त्रिदेशीय शृङ्खलामा उनले १ सय ४२ रन बनाउँदै चार विकेट लिएका थिए ।







