महेन्द्रनगर : डडेल्धुराको जोगबुढामा नापी तथा मालपोत कार्यालय खुल्ने भएको छ । डडेल्धुराको झण्डै आधा जनसंख्या बसोवास गर्ने क्षेत्रमा पर्ने परशुराम नगरपालिका र आलीताल गाउँपालिकाका नागरिकहरु मालपोत र नापी सम्बन्धी कामका लागि जिल्ला सदरमुकाम डडेल्धुरा जानुपर्ने बाध्यताको अब अन्त्य हुने भएको छ ।

परशुराम नगरपालिका र आलीताल गाउँपालिका क्षेत्रका आम नागरिकको सहजताका लागि परशुराम नगरपालिकाको १२ जोगबुडामा मालपोत र नापी कार्यालय स्थापना गर्न यस नगरपालिकाका विभिन्न नगरसभाहरूबाट निर्णय भईसकेको प्रमुख प्रशासकीय अधिकृत तारानाथ पनेरुले जानकारी दिएका छन् । चालू आवको वार्षिक बजेट तथा कार्यक्रमबाट कार्यान्वयन हुने गरी भूमी व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयमा सिफारिस र यस नगरपालिकाको कार्यालयबाट प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा श्रावण ४ गतेका दिन अनुरोध पत्र पठाइएको उनले बताए । फागुन १८ मन्त्री स्तरबाट निर्णय गरिएको उनले जानकारी दिए ।

जोगबुढामा नापी तथा मालपोत कार्यालय संचालनमा आउने भएपछि स्थानियहरु हर्षित भएका छन् । परशुराम नगरपालिका ९का स्थानयि दान बहादुर कामीले अब जिल्ला सदरमुकाम जाने बाध्यता हटेको बताए । पहिला गरिब तथा अन्य स्थानियहरुले नापी र मालपोतमा बुझाउनु पर्ने राजश्व भन्दा बढी खर्च हुने थियो अब उत्तः समस्याको समाधान भएकोउनले बताए ।







