महेन्द्रनगर : वेदकोट नगरपालिकाले मंगलवार (आज) बाट अव्यवस्थित बसोबासीको (ऐलानी– प्रति) जग्गा नाप जाँच गर्ने भएको छ । कञ्चनपुरको वेदकोट नगरपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूलाई जग्गा धनी पुर्जा वितरण र व्यवस्थापन गर्ने सन्दर्भमा सर्वदलीय, सर्वपक्षीय बैठक आयोजना गरी छलफल गरेको हो ।

२०७८ श्रावण २१ गतेदेखि वेदकोट नगरपालिकामा रोकिएको अव्यवस्थित बसोबासीको (ऐलानी– प्रति) जग्गा नाप जाँच गर्ने कार्य फागुन १० गते मंगलबारदेखि पुनः सुचारु गर्ने निर्णय सोमबार आयोजित बैठकले गरेको छ ।५ वटा नापी टोली बनाएर जग्गाको नाप जाँच गरी जग्गा धनीलाई पुर्जा दिने कार्य सुरु गर्ने र भूमिहीन सुकुम्बासीहरुलाई तथ्याङ्क प्रविष्ट गर्दै प्रमाणीकरण गरी जग्गा प्राप्तिका लागि प्रक्रिया अघि बढाउने निर्णय गरेको वेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दले जानकारी दिए ।

उक्त कार्यमा सङ्घीय सरकार भूमि व्यवस्था मन्त्रालय, राष्ट्रिय भूमि आयोग केन्द्र र जिल्ला, नापी विभाग, जिल्ला नापी कार्यालय लगायत तालुकद्धार निकायहरू, राजनीतिक दलहरू, जनप्रतिनिधिहरू, वडा र नगर सहजीकरण समिति, सहयोग गर्नुहुने संस्थाहरू, प्राविधिक कर्मचारी र राष्ट्रसेवक कर्मचारीका साथै सम्पूर्ण वेदकोट नगरबासीहरूमा सहयोग गर्न अनुरोध गर्ने निर्णय समेत गरिएको छ ।







