महेन्द्रनगर : दार्चुलाको महाकाली नगरपालिकाले एकल महिला र टुहुरा बालबालिकालाई न्यानो लुगा वितरण गरेको छ । शुक्रवार वडा नम्बर ४ भित्रका २४ जना एकल महिला र ११ जना टुुहुरा बालबालिकालाई लुगा वितरण गरिएको वडा सचिव कमान कुँवरले जानकारी दिए । वडाको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत चिसो मौसमको बेला विधुवा, एकल महिला र टुुहुरा बालबालिकालाई न्यानो लुगा वितरण गरिएको वडा अध्यक्ष पुष्कर राज जोशीले बताए ।

वितरण गरेको सामग्रीमा जाडोका लागि न्यानो एक/एक थान स्वीटर (बनियान), ज्याकेट र ट्राउजर रहेको छ । ‘वडाबाट वार्षिक योजनानुसार ज्येष्ठ नागरिक, अपांग, विधुवा, एकल महिला र टुुहुरा बालबालिकाका लागि सहयोग गरिदै आएको छ ।’ वडाध्यक्ष जोशीले भने, ‘आगामी दिनमा पनि यस्ता खालका कार्यक्रमलाई निरन्तरता दिनेछौँ ।’ न्यानो लुगा प्राप्त गरेपछि खुशी भएका उनीहरुले जनप्रतिनिधि आएपछि आफूहरुले पाउने सेवा सुविधामा समेत वृद्धि भएको बताएका छन् ।











