काठमाण्डौं: कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टीका नेता दीपक बोहराले आफू राना थारुको छोरा नभएपनि उक्त समुदायका लागि जिम्मेवार भएर काम गर्ने बताउनुभएको छ ।

बुधबार प्रतिनिधीसभामा पहिलो पटक बोल्दै सांसद बोहराले न्युनस्तर ‘माइनरिटी’मा परेका समुदायका लागि आफू सधैँ आवाज उठाउने उद्घोष गर्नुभयो ।

“ म राना थारुको छोरा नभएपनि राना थारुको छोरा भन्दा कम जिम्मेवार हुने छैन ।” संसदमा उहाँले भन्नुभयो–“ मेरो निर्वाचन क्षेत्रमा सीमान्तकृत राना थारु समुदाय छन्, तर उनीहरूको प्रतिनिधित्व यो सदनमा छैन । म त्यसका लागि माफी माग्न चाहन्छु ।” त्यसैगरी सांसद बोहराले गत बर्ष वैशाख दोस्रो साता कञ्चनपुरको बैलौरीमा रहस्यमयी तरिकाले जलेको अवस्थामा भेटिएका हरि किसन रानाको घटना अत्यन्तै रहस्यमय रहेको भन्दै निश्पक्ष छानविन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गर्नुभयो ।

“ परिवार र स्थानीय समुदायले लामो समयदेखि निष्पक्ष छानबिनको माग गरिरहेका छन्। तर आज चैत सकिन लाग्दासम्म सत्य बाहिर आएको छैन ।” बोहराले भन्नुभयो–“ एक वर्ष हुन लाग्दा पनि दोषी नभेटिनु,ढिलाइ होइन, न्यायमाथिको अन्याय हो। त्यसैले म यो सदनमार्फत जोडदार माग गर्छु ” प्रतिनिधीसभा सदस्य निर्वाचनका बेला मत माग्दा उहाँले थारु भाषामै यो पटक घण्टीमा भोट दिन आग्रह गरेको समेत बताउनुभयो ।
“ जा चोटि घण्टी मे बोट डरियो” उहाँले भन्नुभयो–“ आज यो गरिमामय सदनमा भन्न चाहन्छु। म यस्ता न्युनस्तर (माइनरिटी)मा परेका समुदायका लागि सधैँ आवाज उठाउनेछु । प्रतिनिधित्व नभएको ठाउँमा हुने न्यायको अभाव पूरा गर्न म आएको छु ।”
बोहरा कञ्चनपुर–२ बाट निर्वाचित गराउनु हुने र देशमा दुई–तिहाइको बलियो सरकार निर्माण गर्ने जनमतप्रति आभार व्यक्त समेत गर्नुभयो । मुलुकभरमा राना थारु समुदायको बसोबास कैलाली र कञ्चनपुरमा मात्रै रहेको छ ।






