काठमाडौ: राष्ट्रियसभाकाे कार्यव्यवस्था परामर्श समितिको बैठकमा भोलिदेखि सुरु हुने संसदकाे २० औँ अधिवेशनको पूर्वतयारी लगायत विषयमा छलफल भएकाे छ ।

राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालको सिंहदरबारस्थित कार्यकक्ष बसेकाे बैठकमा भोलिदेखि सुरु हुने २० औँ अधिवेशनको पूर्वतयारी, राष्ट्रियसभा उपाध्यक्ष र सभापतिको निर्वाचन तथा नवनिर्वाचित सदस्यहरूलाई समितिमा विभाजन लगायतका विषयमा छलफल भएकाे थियो ।

यस्तै सभाको आगामी बैठकको कार्यसूची, सिट प्लान, सभाको प्रस्तावित कार्यतालिका सम्बन्धमा कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरूको मनोनयन समितिमा सदस्यहरूको मनोनयन उपाध्यक्षको निर्वाचन सभापतिको निर्वाचन सभामा अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन लगायत विषयमा छलफल भएकाे हाे ।

बैठकमा अध्यक्ष दाहालले राष्ट्रियसभाको २० औँ अधिवेशन सफल बनाउन सबै राजनीतिक दलको सक्रिय सहभागिता र रचनात्मक भूमिकाको अपेक्षा गरेको बताउँदै सहकार्य र सहजीकरणका लागि आग्रह गरे ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, कार्यव्यवस्था परामर्श समितिका माननीय सदस्यहरू, संघीय संसदका महासचिव, राष्ट्रियसभाका सचिव लगायतको उपस्थिति रहेको थियो ।






