निर्धारित समयअगावै पुल निर्माण गर्ने कार्यमा संलग्न मजदुर सम्मानित


राजेन्द्र पनेरु/ कञ्चनपुर : निर्धारित समयभन्दा अगावै शुक्लाफाँटा नगरपालिका–१० स्थित टोटी खोलामा पुल निर्माण कार्य सम्पन्न गर्ने निर्माण व्यवसायी तथा मजदुरलाई सम्मान गरिएको छ । वडा अध्यक्ष लालबहादुर ऐरले पुल निर्माण स्थलमै कार्यक्रम आयोजना गरी पुल निर्माणमा संलग्न २५ जना मजदुर तथा निर्माण व्यवसायीलाई फूलमाला, अबिरसहित दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो ।

वडा अध्यक्ष ऐरले निर्धारित समयभन्दा अगावै गुणस्तरीय रुपमा निर्माण सम्पन्न हुन लागेको पुलमा योगदान पु¥याउने मजदुर तथा निर्माण व्यवसायीको मेहनतको कदर गर्दै सम्मान गरिएको बताउनुभयो ।उहाँले भन्नुभयो, “समयमै विकास निर्माणका काम सम्पन्न हुँदा स्थानीय बासिन्दाले छिटो सेवा पाउँछन्, त्यसैले समयअघि काम सम्पन्न गर्ने सबैलाई प्रोत्साहन गर्न सम्मान गरेका हौं ।” सुदूरपश्चिम प्रदेश सरकारको पूर्वाधार विकास कार्यालयमार्फत रु दुई करोड ९१ लाख लागतमा ठेक्का प्रक्रियाबाट एसएमएम जेभी काठमाडौंले पुल निर्माण गरिरहेको छ ।

पुलको लम्बाइ २३ मिटर र चौडाइ १० मिटर रहेको छ । नगरपालिकाको उत्तरी क्षेत्र जोड्न खोलामा पुल निर्माण थालिएको हो । पुलको ढलानको काम पूरा भइसकेको छ भने अहिले रंगरोगनको काम मात्रै बाँकी रहेको छ । चार महिना अघिदेखि पुल निर्माणको काम थालिएको निर्माण व्यवसायी भीष्मकुमार शाहीले बताउनुभयो । पुल निर्माण सम्पन्न गर्ने अन्तिम समय असार मसान्तसम्म तोकिएको छ । दुई वर्षअघि खोलामा आएको बाढीले पुरानो पुल भत्केपछि सोही स्थानमा नयाँ पुल निर्माणको काम थालिएको हो । झलारी–स्टेशनपुर सडक खण्डमा पर्ने पुल निर्माण कार्य पूरा भएपछि शुक्लाफाँटा नगरपालिका वडा नं ७, ८, ९ र १० का बासिन्दा लाभान्वित हुने भएका छन् ।


ताजा समाचार

spot_img