कृष्ण बैजनाथ क्याम्पसमा विद्यार्थी भर्ना वृद्धिका लागि सरोकारवालासँग अन्तरक्रियाः व्यवहारिक र गुणस्तरीय शिक्षामा जोड


झलारी : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीमा अवस्थित कृष्ण बैजनाथ बहुमुखी क्याम्पसले आफ्नो सेवा क्षेत्रभित्रका विद्यालयका प्रधानाध्यापकहरु संग विद्यार्थी भर्ना वृद्धि गर्ने उद्देश्यले अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष सिद्धराज भट्टले अवधारणा पत्र प्रस्तुत गर्नुभएको थियो।
विसं २०६६ सालमा स्थापना भएको यस क्याम्पस सुदूरपश्चिम क्षेत्रकै त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एकमात्र सामुदायिक क्याम्पसका रूपमा परिचित छ। क्याम्पसले शुक्लाफाँटा नगरपालिकाका १२ वटै वडा तथा कृष्णपुर नगरपालिका वडा नं. १, २ र ३ का ग्रामीण क्षेत्रमा बसोवास गर्ने आर्थिक रूपमा विपन्न अभिभावकका छोराछोरी तथा बुहारीहरूलाई सुलभ रूपमा स्नातक र स्नातकोत्तर तहसम्मको शिक्षा प्रदान गर्दै आएको छ।

हाल क्याम्पसमा शुक्लाफाँटा र कृष्णपुर क्षेत्रका साथै सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाबाट समेत गरी ४८७ विद्यार्थी अध्ययनरत रहेका छन्। क्याम्पसले उच्च शिक्षामा पहुँच विस्तार र गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले विद्यार्थी भर्ना दर वृद्धि तथा बीचमै कक्षा छाड्ने दर घटाउन विभिन्न पहलहरू अघि बढाएको जनाएको छ। यसै क्रममा क्याम्पसले आसपासका माध्यमिक विद्यालयहरूसँग समन्वय गर्दै कक्षा १२ का विद्यार्थी तथा प्रधानाध्यापकहरूसँग भेटघाट कार्यक्रम सञ्चालन गरेको थियो। सोही कार्यक्रमको सकारात्मक परिणामस्वरूप विसं २०८२ मा स्नातक प्रथम वर्षमा १५८ जना नयाँ विद्यार्थी भर्ना भएका छन्। क्याम्पसमा स्नातक तहअन्तर्गत व्यवस्थापन संकायमा बीबीएस र शिक्षा संकायमा बीएड तथा स्नातकोत्तर तहमा शिक्षा संकायतर्फ एमएड (नेपाली) कार्यक्रम सञ्चालनमा रहेका छन्।

विद्यार्थीलाई आकर्षित गर्न क्याम्पसले विभिन्न छात्रवृत्ति योजना लागू गरेको छ। प्रवेश परीक्षामा प्रथम हुनेलाई १०० प्रतिशत, द्वितीय हुनेलाई ७५ प्रतिशत र तृतीय हुनेलाई ५० प्रतिशत मासिक शुल्क छुटको व्यवस्था गरिएको छ। साथै ३.५ भन्दा बढी जिपिए ल्याएर भर्ना हुने विद्यार्थीलाई शतप्रतिशत शुल्क मिनाहा गरिन्छ। विपन्न, जेहेन्दार, दलित, जनजाति, अपाङ्ग, द्वन्द्वपीडित तथा पिछडिएका क्षेत्रका कुल विद्यार्थीमध्ये ५ प्रतिशतलाई आन्तरिक छात्रवृत्ति प्रदान गरिँदै आएको छ।
क्याम्पस प्रमुख भवराज निरौलाका अनुसार विश्वविद्यालय अनुदान आयोगबाट छनोट भएका विद्यार्थीलाई वार्षिक रु. १५०० का दरले चार वर्षसम्म छात्रवृत्ति प्रदान गरिँदै आएको छ।
विद्यार्थीलाई रोजगारीसँग जोड्ने उद्देश्यले क्याम्पसले नगरपालिका क्षेत्रभित्रका बैंक, सहकारी संस्था र बीमा कम्पनीहरूमा इन्टर्नसिपको अवसर उपलब्ध गराएको छ। साथै लोक सेवा आयोग, शिक्षक सेवा आयोग र बैंकिङ तयारी सम्बन्धी अतिरिक्त कक्षा सञ्चालन गरिएको छ।

भौतिक पूर्वाधारका दृष्टिले पनि क्याम्पस सुदृढ बन्दै गएको छ। क्याम्पसमा पुस्तकालय, प्रयोगशाला, कम्प्युटर ल्याब तथा प्रोजेक्टरसहितका कक्षाकोठाको व्यवस्था रहेको छ। विगतमा भवन अभावका कारण श्रीकृष्ण माध्यमिक विद्यालयमा बेलुका कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता रहे पनि हाल आफ्नै ६ कठ्ठा जग्गामा भवन निर्माण भएपछि बिहान ७ बजेदेखि दिउँसो १२ बजेसम्म नियमित रूपमा पठनपाठन सञ्चालन भइरहेको छ।हाल क्याम्पसका करिब ३० प्रतिशत विद्यार्थी रोजगारीमा आबद्ध छन्। अधिकांश विद्यार्थी बिहान क्याम्पसमा अध्ययन गर्ने र दिउँसो संस्थागत विद्यालयहरूमा अध्यापन गर्ने कार्यमा संलग्न छन्। यसले विद्यार्थीलाई आर्थिक रूपमा आत्मनिर्भर बन्न सहयोग पुगेको छ।

कार्यक्रमका प्रमुख अतिथि नगरपालिकाको शिक्षा शाखा प्रमुख (उप सचिव) टिकेन्द्रराज भट्टले क्याम्पसको सर्वाङ्गिण विकासका लागि स्रोत साधनले भ्याएसम्म आफ्नो तर्फबाट पैरवी गर्ने बताउनुभयो। शिक्षाको गुणस्तर कायम राख्न नगर क्षेत्रका शैक्षिक संस्थामा नगरपालिकाले लगानी बढाउँदै लगिएको उहाँको भनाइ रहेको छ। निवर्तमान अध्यक्ष उद्धवराज भट्टले क्याम्पसमा पर्याप्त पूर्वाधार भएकाले विद्यार्थीको रुचिअनुसारका विषय थप गरी थप विद्यार्थी आकर्षित गर्न सकिने बताउनुभयो। क्याम्पसका संस्थापक सञ्चालक समिति अध्यक्ष देवदत्त भट्टले शिक्षामा आमूल परिवर्तनको आवश्यकता रहेको औँल्याउँदै पहाड खनेर मूल निकाल्न सक्नुपर्नेमा जोड दिनुभयो। अन्तरक्रिया कार्यक्रममा सहभागी विद्यालयका प्रधानाध्यापकहरूले विद्यार्थी भर्ना वृद्धि गर्न विद्यार्थीको रुचिअनुसारका विषयहरू थप्नुपर्नेमा जोड दिएका थिए।

वेस्ट पोइन्ट विद्यालयका प्रधानाध्यापक डम्बरप्रसाद जोशीले प्राविधिक तथा व्यवहारिक विषय विस्तार गर्न सुझाव दिनुभयो।
त्यस्तै सिद्ध बैजनाथ माध्यमिक विद्यालयका प्रधानाध्यापक धर्मराज जोशीले कक्षा १२ पछि विदेश जाने प्रवृत्ति बढेकाले व्यवहारिक शिक्षामा जोड दिन आवश्यक रहेको बताउनुभयो। बैजनाथ माध्यमिक विद्यालय, कसरौलाका प्रधानाध्यापक खेमराज अवस्थीले अभिभावकलाई स्थानीय क्याम्पसको महत्व बुझाउनुपर्ने आवश्यकता औँल्याउनुभयो। कृष्ण बैजनाथ माध्यमिक विद्यालयका प्रधानाध्यापक पिताम्बर जोशीले सामुदायिक र संस्थागत विद्यालयमा गरी चार सयको हाराहारीमा विद्यार्थी कक्षा १२ मा अध्ययनरत रहेको उल्लेख गर्नुभयो।

ती विद्यार्थीमध्ये एक तिहाइ विद्यार्थी मात्रै सामुदायिक क्याम्पसमा भर्ना हुने गरेको उहाँले बताउनुभयो। विद्यार्थीलाई क्याम्पसमा टिकाइ राख्नका लागि पार्ट टाइम नभई फुल टाइम शिक्षकको व्यवस्था गर्नु आवश्यक रहेको उहाँको भनाइ थियो।
सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक भरत बहादुर तिरुवाले विद्यालय र क्याम्पसबीचको सम्बन्ध नङ र मासुको जस्तै रहेको उल्लेख गर्दै यस क्याम्पसलाई सुदूरपश्चिमकै शिक्षाको हबका रूपमा विकास गर्न गुणस्तरीय शिक्षाका लागि स्पष्ट लक्ष्य निर्धारण गर्नुपर्ने बताउनुभयो। क्याम्पसका सल्लाहकार सदस्य उत्तमराज भट्टले विदेश जाने लहरका कारण विद्यार्थी संख्या घट्ने चुनौती रहेको बताये I


ताजा समाचार

spot_img