थ्रि एन्जल्स नेपालद्वारा कञ्चनपुरमा समन्वात्मक छलफल कार्यक्रम सम्पन्न


कञ्चनपुर — मानव बेचबिखन नियन्त्रण तथा रोकथामका लागि सक्रिय रूपमा कार्य गर्दै आएको थ्रि एन्जल्स नेपाल शाखा कार्यालय कञ्चनपुरको आयोजनामा सरोकारवाला निकाय तथा विभिन्न संघ–संस्थाबीच समन्वात्मक छलफल कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा मानव बेचबिखन जस्तो जटिल सामाजिक समस्यालाई न्यूनीकरण गर्न राज्यका निकाय, गैरसरकारी संस्था, सुरक्षाकर्मी तथा समुदायबीच सहकार्य आवश्यक रहेकोमा सहभागीहरूले जोड दिएका थिए।लामो समयदेखि महिला तथा बालबालिकाको बेचबिखन विरुद्ध कार्य गर्दै आएको थ्रि एन्जल्स नेपालले विभिन्न सचेतनामूलक कार्यक्रम, उद्धार तथा पुनर्स्थापना अभियानमार्फत उल्लेखनीय उपलब्धि हासिल गरेको बताइएको छ। संस्थाले हालसम्म धेरै जोखिममा रहेका महिला तथा बालबालिकालाई बेचबिखनबाट जोगाउन सफल भएको जानकारी कार्यक्रममा दिइएको थियो।

कार्यक्रममा बोल्दै अमिर तिरुवा, गैर सरकारी संस्था महासंघ कञ्चनपुरका अध्यक्षले मानव बेचबिखन समाजका लागि गम्भीर अभिशापका रूपमा रहेको उल्लेख गर्दै यसको नियन्त्रणका लागि सबै सरोकारवालाहरू एकजुट भएर काम गर्नुपर्ने आवश्यकता औंल्याए।उनले जनचेतना अभिवृद्धि, कानुनी कार्यान्वयन र समुदायस्तरमा निगरानी सुदृढ गर्नुपर्नेमा विशेष जोड दिए।त्यस्तै, प्रमुख अतिथिको रूपमा उपस्थित महेन्द्र सिंह रावल, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृतले मानव बेचबिखन रोकथामका लागि सरकारी निकायले आवश्यक सहयोग र समन्वय गर्न तयार रहेको बताए। उनले यस्तो कार्यक्रमले विभिन्न निकायबीच सहकार्यको वातावरण निर्माण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे।

कार्यक्रम बेलु देवी नेपाली, थ्रि एन्जल्स नेपाल कञ्चनपुर शाखाका फिल्ड कोअर्डिनेटरको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा विभिन्न संघ–संस्था, सुरक्षाकर्मी, स्थानीय प्रतिनिधि तथा अन्य सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।छलफलका क्रममा मानव बेचबिखनका कारण, जोखिम समूह, रोकथामका उपाय तथा उद्धारपछिको पुनर्स्थापना सम्बन्धी विषयमा विस्तृत बहस गरिएको थियो। सहभागीहरूले सीमावर्ती क्षेत्र भएकाले कञ्चनपुरमा मानव बेचबिखनको जोखिम अझ बढी रहेको उल्लेख गर्दै समन्वयात्मक कार्यलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए। कार्यक्रमको अन्त्यमा आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै सम्बन्धित निकायहरूबीच सहकार्य र सूचना आदानप्रदानलाई थप सुदृढ बनाउने निर्णय गरिएको आयोजकले जनाएको छ।


ताजा समाचार

spot_img