कञ्चनपुर : कञ्चनपुरका समाजसेवी तथा व्यवसायी दिवान आग्रीले विगत १५ वर्षदेखि निरन्तर रूपमा निःशुल्क पानी वितरण गर्दै आएका छन्। भीमदत्त नगरपालिका–५, बनखेत निवासी आग्रीले प्रत्येक वर्ष रामनवमीको अवसरमा नौ दिनसम्म निःशुल्क पानी वितरण गर्ने गरेका छन्। सोही अवधिमा पूर्णागिरी मेला लाग्ने भएकाले नेपाल तथा भारतबाट आउने श्रद्धालु भक्तजनहरूको प्यास र थकान मेटाउन उनले यो सेवा सञ्चालन गर्दै आएका हुन्।

यसबाट बाटोमा हिँड्ने बटुवा, विद्यार्थी तथा अन्य यात्रुहरूले समेत लाभ लिने गरेका छन्। धर्मप्रति आस्था राख्ने आग्री स्वयंले पनि यस अवधिभर नवरात्रिमा व्रत बस्ने गरेका छन्।जनता साउण्ड इलेक्ट्रोनिक एण्ड इलेक्ट्रिक सेन्टर तथा अटो व्यवसाय सञ्चालन गर्दै आएका आग्री व्यापारसँगै समाजसेवामा पनि अग्रणी भूमिका निर्वाह गर्दै आएका छन्।

उनले भने, “यस प्रकारको कार्यले मलाई आत्मिक सन्तुष्टि मिल्ने गर्छ। साथै, भारतीय पर्यटकप्रति राम्रो व्यवहार गर्न सके आगामी दिनमा पनि उनीहरू नेपाल भ्रमणका लागि आउनेछन्। त्यसैले हामी सबैले सकेसम्म यस्ता कार्यमा योगदान गर्नुपर्छ।” उनले थपे, “नेपाली श्रद्धालु तथा तीर्थयात्रीहरू भारतका विभिन्न स्थानमा गई धर्मकर्म गर्ने गर्छन्। त्यसैगरी, हामीले पनि आफ्ना देशका तीर्थस्थल तथा पर्यटकीय स्थलहरूमा उनीहरूलाई आकर्षित गर्नुपर्छ। त्यसका लागि हामी सबै पर्यटकमैत्री बन्न आवश्यक छ।”







