काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की भुमिका श्रेष्ठ प्रतिनिधि सभा सदस्य (समानुपातिक) का रूपमा निर्वाचित भई निर्वाचन आयोगबाट प्रमाणपत्र ग्रहण गर्नुभएको छ। प्रमाणपत्र ग्रहण पश्चात उहाँले अत्यन्त गर्व र खुशी महसुस गरेको बताउनुभएको छ।
यो उपलब्धि केवल एउटा प्रमाणपत्र मात्र नभई आफू र आफ्नो समुदायप्रति जनताले देखाएको माया, विश्वास र साथको प्रतीक भएको उल्लेख गर्नुभयो। “तपाईंहरूको भरोसाले मेरो काँधमा अझ ठूलो जिम्मेवारी थपिएको छ,” उहाँले भन्नुभयो।
यस अवसरमा श्रेष्ठले आफूलाई विश्वास गरी साथ दिनुहुने सम्पूर्ण शुभचिन्तकहरू, समुदायका साथीहरू तथा रास्वपा परिवारप्रति हार्दिक धन्यवाद व्यक्त गर्नुभयो। विशेषगरी यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको प्रतिनिधित्व गर्ने अवसर पाएकोमा उहाँले गौरव व्यक्त गर्नुभयो।
उहाँले आगामी दिनमा आफ्नो जिम्मेवारी इमानदारी, पारदर्शिता र समर्पणका साथ पूरा गर्ने प्रतिबद्धता जनाउँदै निरन्तर साथ, सुझाव र सहयोगको अपेक्षा पनि राख्नुभएको छ।







