मणिका धाम मेलाको आय–व्यय सार्वजनिक


कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका–८ स्थित बैजनाथ धार्मिक तथा पर्यटकीय विकास समितिले मणिका धाम क्षेत्रमा सम्पन्न मेलाको आय–व्यय विवरण सार्वजनिक गरेको छ। समितिका अध्यक्ष पूर्ण बहादुर हमालको अध्यक्षतामा बसेको बैठकले उक्त विवरण सार्वजनिक गरेको हो।सार्वजनिक विवरणअनुसार मेलाबाट कुल आम्दानी रु २ लाख १७ हजार ४७९ भएको छ। आम्दानीतर्फ सचिवालयमार्फत सहयोग संकलन रु ४६ हजार ५३७, दानपेटीबाट रु १० हजार ४६५, पूजा भेटीबाट रु ६ हजार ३२५, पार्किङबाट रु ४८ हजार ५० र बजार व्यवस्थापनबाट सहयोग रु ९० हजार ४२५ संकलन भएको उल्लेख गरिएको छ।

त्यसैगरी खर्चतर्फ कुल रु २ लाख १४ हजार १४८ खर्च भएको छ। खर्चमा छपाइ तथा स्टेशनरी रु १२ हजार २५, विद्युत तार तथा वायरिङ रु २१ हजार २०९, भण्डारा रु २० हजार ३७५, भाडा बर्तन, कुर्सी, टेबल र जेनेरेटर रु १८ हजार ५००, सिमेन्ट खरिद रु २ हजार ४८०, माटो भरान रु ५ हजार, सञ्चार तथा विज्ञापन रु २ हजार ५००, जेसीबी खर्च रु ३ हजार, पेट्रोल खर्च रु ४ हजार ४९, शान्ति सुरक्षा तथा यातायात व्यवस्थापन रु ५ हजार, सरसामान ओसारपसार रु ३ हजार ८५०, चौकीदार पारिश्रमिक रु १० हजार, साधु–सन्त तथा ब्राह्मणलाई दक्षिणा रु ११ हजार ५७५, पार्किङ व्यवस्थापन पारिश्रमिक रु १४ हजार ३८५, सडक बत्ती रु ५ हजार, खानेपानी मर्मत रु ८ हजार ४००, झाडी सरसफाइ रु २४ हजार, ताल सरसफाइ रु ८ हजार, भान्सा व्यवस्थापन रु ३ हजार ६०० र मन्दिर तथा बजार सरसफाइ रु ४ हजार २०० समावेश छन्।

आम्दानी र खर्चपछि रु ३ हजार ३३१ बचत भएको समितिले जनाएको छ। मेला फागुन १३ र १४ गते सम्पन्न भएको थियो। बैठकले मेला तथा विभिन्न धार्मिक कार्यक्रमका लागि आवश्यक भाँडाकुँडाको अभाव देखिएकाले व्यवस्थापनका लागि शुक्लाफाँटा नगरपालिका कार्यालयसँग रु ६० हजार आर्थिक सहयोग माग गर्ने निर्णय समेत गरेको छ। बैठकमा समितिका पदाधिकारी, सल्लाहकार, समाजसेवी, बुद्धिजीवी तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो।


ताजा समाचार

spot_img