बैजनाथ माध्यमिक विद्यालयको ३५औँ वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न


कञ्चनपुर — शुक्लाफाँटा नगरपालिका–६ कसरौलस्थित बैजनाथ माध्यमिक विद्यालयको ३५औँ वार्षिकोत्सव समारोह तथा अभिभावक भेला शनिबार विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामशाह रानाको अध्यक्षतामा आयोजित समारोहका प्रमुख अतिथि नगर प्रमुख रणबहादुर महरा रहनु भएको थियो।

समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख महराले सामुदायिक विद्यालयको विकासमा स्थानीय सरकार प्रतिबद्ध रहेको बताउनुभयो। शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धिका लागि भौतिक पूर्वाधार सुधार, शैक्षिक वातावरण सुदृढीकरण तथा प्रविधिमैत्री शिक्षण प्रणाली आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो। सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्न सकेमा निजी विद्यालयप्रतिको निर्भरता कम हुने विश्वास व्यक्त गर्दै नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा वडा नम्बर ६ का वडा अध्यक्ष दान सिंह ऐरले विद्यालयको समग्र विकासका लागि स्थानीय समुदाय, अभिभावक र सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको बताउनुभयो। शिक्षा नै समाज रूपान्तरणको प्रमुख आधार भएकाले विद्यालयलाई अझ सक्षम र प्रभावकारी बनाउन सबै पक्ष एकजुट हुनुपर्ने उहाँको भनाइ थियो।

वडा नम्बर ७ का पूर्व वडा अध्यक्ष जगतबहादुर सिंहले शिक्षा नै व्यक्तित्व निर्माण र समाज विकासको आधार भएकाले विद्यालयको शैक्षिक वातावरण सुधारमा निरन्तर ध्यान दिनुपर्ने धारणा राख्नुभयो। विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष चिन्तामणि भट्टले विद्यालयको विगतदेखि वर्तमानसम्मको यात्रामा समुदायको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै आगामी दिनमा पनि सहकार्यलाई अझ बलियो बनाउनुपर्ने बताउनुभयो।

नगर खेलकुद समितिका अध्यक्ष चक्रबहादुर साउदले खेलकुद र शिक्षा सँगसँगै अघि बढ्नुपर्ने बताउँदै विद्यार्थीको समग्र व्यक्तित्व विकासका लागि खेलकुद गतिविधि पनि उत्तिकै महत्वपूर्ण रहेको धारणा व्यक्त गर्नुभयो। त्यसैगरी, विद्यालयका पूर्व प्रधानाध्यापक तथा कृष्ण बैजनाथ बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष सिद्धराज भट्टले विद्यालयले समुदायमा शैक्षिक चेतना फैलाउन महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। उहाँले विद्यालयको निरन्तर प्रगतिका लागि सबै सरोकारवालाले साझा जिम्मेवारीका साथ सहयोग गर्नुपर्नेमा जोड दिनुभयो।

सो अवसरमा विद्यालयका प्रधानाध्यापक खेमराज अवस्थीले विद्यालयको शैक्षिक तथा वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो। उहाँका अनुसार माध्यमिक तह सञ्चालनको स्वीकृति प्राप्त गरेपछि हालसम्म विद्यालयबाट १७औँ ब्याचले कक्षा १० उत्तीर्ण गरिसकेको छ भने कक्षा ११ र १२ सञ्चालनको स्वीकृति प्राप्त भएपछि १२औँ ब्याचले कक्षा १२ उत्तीर्ण गरिसकेको छ। विद्यालयबाट शिक्षा प्राप्त गरेका विद्यार्थी नेपाल सरकारको निजामती सेवा, शिक्षक, सुरक्षा निकायका उच्च पदहरू तथा विभिन्न व्यवसायिक क्षेत्रमा सफलतापूर्वक कार्यरत रहेको उल्लेख गर्दै प्रधानाध्यापक अवस्थीले यसले विद्यालयप्रति गर्वको अनुभूति गराएको बताउनुभयो।

उहाँले विद्यालयको भौतिक, आर्थिक तथा शैक्षिक गतिविधिका बारेमा जानकारी गराउँदै आर्थिक वर्ष २०८१/०८२ का लागि एक करोड २५ लाख ४२ हजार चार सय २२ रुपैयाँ बराबरको आय–व्यय विवरण समेत प्रस्तुत गर्नुभयो। कार्यक्रमका अवसरमा विद्यालयका जेहेन्दार, शैक्षिक तथा खेलकुद विधामा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरिएको थियो। साथै विद्यालयका पूर्व शिक्षकहरूलाई योगदानको कदरस्वरूप सम्मान गरिएको थियो।

वार्षिकोत्सव समारोहमा विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम अन्तर्गत नृत्य प्रस्तुत गरी उपस्थित दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष, पूर्व प्रधानाध्यापक, अभिभावक, विद्यार्थी, सुरक्षा निकायका प्रतिनिधि तथा स्थानीय सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो।


ताजा समाचार

spot_img