काठमाडौ: झापा ५ मा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई फराकिलो अन्तरले पराजित गरी विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले सर्वाधिक मतको रेकर्ड पनि बनाएका छन्। निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार संसदीय निर्वाचनको इतिहासमा उनले सर्वाधिक मत पाएका छन् ।

६८ हजार ३४८ मतसहित उनी विजयी भएका हुन्। नेपालको संसदीय निर्वाचनमा यसअघि कुनै उम्मेदवारले यतिधेरै मत ल्याएका थिएनन्। उनका निकटतम प्रतिस्पर्धी एमालेका केपी शर्मा ओलीले १८ हजार ७३४ मत ल्याए। रास्वपाका आठ नेताले कटाए ५० हजार मत
बिहीबार सम्पन्न निर्वाचनमा बालेनसहित रास्वपाका ७ नेताले ५० हजार भन्दा धेरै मत पाए।

चितवन ३ मा सबिता गौतमले ५९ हजार २७७ मत पाइन्। उनले रेणु दाहाललाई ३८ हजार ६६२ मतान्तरले पराजित गरिन्। त्यस्तै, रुपन्देही ३ मा रास्वपाका उम्मेदवार डा. लेखजंग थापाले ५८ हजार ८१४ मत पाएर विजयी भए।

रुपन्देही २ मा सुलभ खरेलले ५६, ५५०, मोरङ ६ मा रुबिना आचार्यले ५५ हजार ५१३ र चितवत २ मा रवि लामिछाने ५४,४०२ मतका साथ विजयी भएका हुन्।
रुपन्देही १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री सुनिल लम्सालले पनि ५० हजार कटाए । उनले ५४ हजार ८४५ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका हिराबहादुर खत्रीले ११ हजार ९ सय ८२ मत प्राप्त गरेका छन्। त्यस्तै राप्रपाका प्रज्जवल बोहराले ८ हजार ३ सय १ मत प्राप्त गरेका छन् । यहा एमालेका दधिराम न्यौपानेले ७ हजार ४ सय ८८ मत प्राप्त गरेका छन् ।
त्यस्तै, काभ्रेपलाञ्चोक २ मा रास्वपाकै बदन भण्डारी ५३ हजार ३४४ मत पाएर विजयी भए। उनले ३५ हजार ४०४ कांग्रेसका मधु आचार्यलाई पराजित गरेका हुन्। आचार्यले १७ हजार ९४० मत पाए।






