कञ्चनपुर-३ बलियाे पकड बनाउदैँ एमाले, यस्तो छ डा. दीपक प्रकासकाे “विकास रोडम्याप”

महेन्द्रनगर : नेपाल कम्युनिष्ट पार्टी (एमाले) कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का उम्मेदवार डा. दीपक प्रकाश भट्ट ले चुनावी अभियानलाई तीव्रता दिएका छन्। मंगलबार भीमदत्तमा मतदातासँगकाे भेटघाट कार्यक्रममा बाेल्दैँ उनले विगतमा सुरु भएका योजनालाई पूर्णता दिने बताए । उनले मतदातासँग सुदूरपश्चिमकै समृद्धिका लागि दीर्घकालीन विकास खाकाबारे स्पष्ट पारिरहेका छन् । उनले कञ्चनपुरलाई त्रिदेशीय नाकाका रूपमा विकास गरी आर्थिक गतिविधि विस्तार गर्ने र युवाका लागि रोजगारी सिर्जना गर्ने योजना प्रस्तुत गरेका छन्।

कैलालीको गेटामा रहेको देशकै पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई पूर्ण रूपमा सञ्चालनमा ल्याई महाकाली प्रादेशिक अस्पताललाई शिक्षण अस्पतालका रूपमा विकास गर्ने उनको याेजना छ। त्यस्तै सुदूरपश्चिम विश्वविद्यालयमा स्पोर्ट्स साइन्स, जलवायु विज्ञान र एआईलगायत नयाँ विषय सुरु गरी दक्ष जनशक्ति उत्पादन गर्ने विश्वास उनले व्यक्त गरेका छन्। घरदैलो कार्यक्रमलाई तीव्रता दिएका भट्टले आफू जनताको समस्यासँग नजिकबाट परिचित रहेको उल्लेख गर्दै प्राथमिकताका आधारमा दीर्घकालीन समाधान खोज्ने बताएका छन्। लामो समयदेखि बन्द रहेको मझगाउँ विमानस्थल आफ्नै पहलमा त्रिपक्षीय लगानी मोडेलमा सुरु गरिएको बताउदैँ बाँकी कामलाई पूर्णता दिने उनले बताए ।

निकुञ्ज क्षेत्रबाट हुने वन्यजन्तुजन्य क्षति रोक्न मेस वायर र पर्खाल निर्माण गर्ने योजना पनि उनले अघि सारेका छन्। भने दोधरा र चाँदनीमा सम्पर्क कार्यालय स्थापना गरी जनसम्पर्कलाई थप प्रभावकारी बनाउने उनको भनाइ छ । त्यस्तै दोधराचाँदनीमा निर्माणाधीन सुख्खा बन्दरगाह र महाकाली करिडोरको कामलाई पूर्णता दिने उनको दावि छ। भीमदत्त र दोधरा–चाँदनी क्षेत्रमा चक्रपथ निर्माणसहित सडक पूर्वाधार विस्तारलाई प्राथमिकता दिने योजना उनले सार्वजनिक गरेका छन्। २०७९ को निर्वाचनमा पराजय व्यहोरेको एमालेले यस पटक हारकाे बदला लिने रणनीतिक बनाएको छ । बौद्धिक र शालीन छविका भट्टले क्षमता र अनुभवका आधारमा आफू विजयी हुने दाबी गर्दै सूर्य चिन्हमा मतदान गर्न आम मतदातालाई अपिल समेत गरेका छन्।

ताजा समाचार

spot_img