कञ्चनपुर–२ मा एन.पी. साउदको सेवामुखी सक्रिय अभियान

हेमा भट्ट/कञ्चनपुर — प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ मा उम्मेदवार एन.पी. साउद यतिबेला जनताको घरदैलोमा सक्रिय रूपमा पुगिरहेका छन्। राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई आफ्नो राजनीतिक मार्गदर्शक सिद्धान्त बनाएका साउदले “पदका लागि होइन, सेवाका लागि राजनीति” भन्ने स्पष्ट सन्देशसहित चुनावी अभियानलाई तीव्रता दिएका छन्। “म शासक होइन, सेवक बन्न चाहन्छु। बोलेर होइन, गरेर देखाउन चाहन्छु,” भन्ने उनको उद्घोष अहिले गाउँ–टोलमा चर्चाको विषय बनेको छ।

घरदैलो कार्यक्रम, टोलस्तरीय अन्तरक्रिया र सामुदायिक छलफलमार्फत उनले मतदातासँग प्रत्यक्ष संवादलाई प्राथमिकता दिएका छन्, जसले अभियानलाई थप जीवन्त बनाएको छ। हालै कृष्णपुर नगरपालिका अन्तर्गत साविक रैकवार विचवामा आयोजित भेटघाट तथा छलफल कार्यक्रममा स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता देखियो। कार्यक्रममा सडक स्तरोन्नति, सिँचाइ व्यवस्थापन, स्वास्थ्य सेवाको सहज पहुँच, गुणस्तरीय शिक्षा र युवाका लागि रोजगारी सिर्जना जस्ता विषय मुख्य एजेन्डाका रूपमा उठाइए।

उम्मेदवार साउदले ती मागहरूलाई गम्भीरतापूर्वक सम्बोधन गर्दै दीर्घकालीन र समन्वित विकासको खाका प्रस्तुत गरे। उनका अनुसार अधुरा पूर्वाधार योजनालाई पूर्णता दिने, बजेट विनियोजनमा पारदर्शिता कायम गर्ने तथा स्थानीय तहसँग सहकार्य गरी योजनाबद्ध विकासलाई अघि बढाइनेछ। कृषि क्षेत्रलाई आधुनिकीकरण गर्दै किसानलाई उत्पादनदेखि बजारीकरणसम्म सहयोग पुर्‍याउने, साना तथा मझौला उद्यम प्रवर्द्धनमार्फत स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने उनको स्पष्ट प्रतिबद्धता छ।

युवालाई लक्षित कार्यक्रमअन्तर्गत सीपमूलक तालिम, उद्यमशीलता प्रवर्द्धन तथा खेलकुद पूर्वाधार विकासलाई प्राथमिकता दिने उनले बताएका छन्। त्यस्तै महिला सशक्तीकरणका लागि सहकारीमार्फत आयआर्जनका कार्यक्रम विस्तार गर्ने र सामाजिक सुरक्षालाई थप प्रभावकारी बनाउने योजना पनि अघि सारेका छन्। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा साउदको अभियान थप संगठित र प्रभावकारी बन्दै गएको छ।

मतदाताको सुझावलाई नीति तथा कार्यक्रमको आधार बनाउने उनको प्रतिबद्धताले स्थानीयस्तरमा सकारात्मक सन्देश प्रवाह गरेको देखिन्छ। कञ्चनपुर–२ मा विकास, सुशासन र जनउत्तरदायी नेतृत्वको बहस चर्किंदै गर्दा एन.पी. साउद आफूलाई भरोसायोग्य र समर्पित विकल्पका रूपमा स्थापित गर्न प्रयासरत छन्। अबको निर्वाचनले जनताले कुन एजेन्डालाई प्राथमिकता दिन्छन् भन्ने स्पष्ट पार्नेछ, तर हालको सक्रियता र संवाद शैलीले उनको अभियानलाई थप उत्साहजनक बनाएको छ।

ताजा समाचार

spot_img