कञ्चनपुर : भीमदत्त नगरपालिका–१८ जानकी टोल स्थित फलोरिडा इन्टरनेशनल बोडिङ्ग स्कुल ले आफ्नो २५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा मनाएको छ। वि.स. २०५७ सालमा भीमदत्त नगरपालिका–१५ गोवरैयाबाट स्थापना भएको यस विद्यालयले यस वर्ष आफ्नो २५ औं वसन्त पूरा गरेको हो। शिक्षाप्रेमी तथा समाजसेवी स्व. प्रताम राम लोहारद्वारा स्थापित यस विद्यालयले स्थापनाकालदेखि नै गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ।

हालसम्म यहाँबाट अध्ययन गरेका विद्यार्थीहरू देश तथा विदेशका उच्च तहमा रही कार्यरत छन्, जसले विद्यालय, परिवार र राष्ट्रको मान–सम्मान बढाएका छन्। कञ्चनपुरका उत्कृष्ट विद्यालयहरूमध्ये पर्ने फलोरिडाले गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई निःशुल्क शिक्षा प्रदान गर्दै सामाजिक उत्तरदायित्व पनि निर्वाह गर्दै आएको छ।

संस्थापक प्रताम राम लोहारको स्वर्गारोहणपछि पूर्व अञ्चलाधीश तथा शिक्षाप्रेमी व्यक्तित्व उत्तम राम टमाटाले विद्यालयको जिम्मेवारी सम्हाल्नु भएको छ। मण्टेश्वरीदेखि कक्षा १२ सम्म अध्ययन हुने यस विद्यालयमा हाल ९५० भन्दा बढी छात्र–छात्रा अध्ययनरत छन्।

विद्यालयका प्रधानाध्यापक जयराज ओझाको सभापतित्वमा सम्पन्न कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालय का शिक्षा शास्त्र संकायका डिन भवानी चलाउने प्रमुख अतिथिका रूपमा उपस्थित रहनु भएको थियो। २५ औं वार्षिकोत्सव कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक, अभिभावक तथा विशिष्ट व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।






